आपूर्ति व्यवस्था सहज बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्ने

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट आपूर्ति व्यवस्थामा पर्न सक्ने असर न्युनीकरण गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संकटको अवस्थामा आपूर्ति प्रणाली व्यवस्थित गर्न सहकार्य गर्ने भएका हुन् ।

सहमति अनुसार उद्योगी, व्यवसायी, एवं व्यापारीका संगठनहरुले आपूर्ति व्यवस्था सहज एवं सुलभ बनाउन र मूल्य वृद्धि हुन नदिन आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन्।

यस्तै दैनिक उपभोग्य खाद्य सामग्रीको जिल्लागत आवश्यकता पहिचान गरी अत्यावश्यक उपभोग्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुको आँकडा अद्यावधिक गरिने भएको छ । साथै उत्पादित वस्तुले बजारको माग धान्न सक्ने अवस्थाको आँकलन गरी त्यस्ता वस्तुहरुको नियमित उत्पादन र वितरणको व्यवस्था मिलाउने भएका छन् ।

आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउन जिल्ला स्थित संयन्त्र मार्फत तथ्यांक संकलन गर्ने, उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको संचिति अवस्थाको बारे नियमित जानकारी दिने लगायतमा सहकार्य गर्ने सहमति भएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ।