वित्तीय व्यवस्थापन गर्न नसकेपछि सिद्धकालीको पिपिए खारेज

0
Shares

तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए) खारेज गरिदिएको छ।

वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो । कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै गल्छीमा कूल ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्न लागेको थियो ।

प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७३ जेठ २० गते विद्युत् खरीद सम्झौता भएको थियो । कम्पनीले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने र निर्माणमा जाने गरी सम्झौता गरेको थियो । विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र समेत यसअघि नै खारेज गरिदिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकेको र अनुमतिपत्रसमेत सिद्धकालीको हकमा नभएकाले प्राधिकरणले सम्झौता खारेज गरिदिएको बताउनुभयो । उनले कानूनअनुसार नै अनुमतिपत्रसमेत नभएको र सम्झौताको शर्तअनुसार २४ महिनाभित्र वित्तीय व्यवस्थापन नगरेकाले सम्झौता खारेज भएको जानकारी दिए ।

सम्झौता भएको चार वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि स्वतः कानूनअनुसार नै सम्झौता खारेज भएको प्राधिकरणको भनाइ छ । उता सिद्धकाली पावरका प्रतिनिधि सञ्जिव न्यौपानले भने आफूहरुको सम्झौता कायमै रहेको बताए । “हामीले क्षमता घटाएर आयोजना निर्माण गर्न लागिपरेका छौँ । त्यसमा कुनै समस्या छैन”, न्यौपानेले भने ।

प्रवद्र्धक कम्पनीले इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा चिनियाँ लगानीकर्ता भित्र्याएर आयोजना निर्माण गर्ने जनाएको थियो । एक चिनियाँ कम्पनीसँग पनि सो विषयमा सम्झौता भएको थियो । ती सबै सम्झौता कार्यान्वयन हुन नसकेको बताइन्छ । न्यौपानले क्षमता घटाएर आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको दावी गरे।