सबैलाई सरकारी कोषमा रकम जम्मा गर्न आग्रह, जथाभावी रकम नउठाउन निर्देशन

0
Shares

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय कोष बनाइसकेकाले सबैलाई उक्त कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।

यसअघि कोष खडा गरेर जम्मा गरिएको रकम एक हप्ताभित्र कोषमा जम्मा गर्न समेत सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

“कुनै संस्थाले कोष खडा गरिसकेको रहेछ भने आफू मातहतका संस्था, कर्मचारी र निकायका व्यक्तिको रकम मात्रै सङ्कलन गर्नुपर्ने हुन्छ, तर त्यो केन्द्रीय कोषमा हरेक हप्ता जम्मा गर्नुपर्छ”, बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।

बीर अस्पताल, धुलिखेल अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोगको परीक्षणका लागि तत्कालै यन्त्र उपकरण जडान गर्ने र त्यो नबन्दासम्म सवारी साधनको माध्यामबाट टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा छिटो भन्दा छिटो परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।