चैत मसान्तसम्म ग्राहकसँग कुनै पनि शुल्क नउठाउन बीमा कम्पनीलाई निर्देशन

0
Shares

बीमा समितिले जीवन बीमा कम्पनीलाई चैत मसान्तसम्म कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ ।

उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिले बीमा समितिलाई बीमा कम्पनीबाट न्यूनतम सेवा प्रवाहको सुनिश्चितता गर्ने व्यवस्था गर्न निर्देशन गरे अनुसार  बिहीबार समितिले परिपत्र जारी गर्दै यस्ते निर्देशन दिएको हो।

समितिले परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क संकलन गर्ने कार्य मिलाउन, जीवनबीमाको अवधि समाप्तपछिको भुक्तानी बैंकमार्फत् गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यस्तै निर्जीवन बीमा कम्पनीको हकमा भने नवीकरण वापतको बीमा शुल्क लिन पाउने व्यवस्था कायमै राखे पनि त्यस्तो शुल्क विद्युतीय माध्यमबाट लिन पाउने व्यवस्था मिलाउन भनिएको छ । समितिले इमेल मार्फत नविकरणको गर्ने व्यवस्था मिलाउन भनेको छ ।

समितिले तत्कालकै उत्पन्न हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट बीमा कम्पनीहरुलाई आवश्यक प्रमाणहरु संकलन गर्ने र अवस्था सामान्य भएपछि दाबी भुक्तानी दिनसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यस्तै, समितिले इजाजतप्राप्त अभिकर्ता र सर्भेयरलाई चैत मसान्तभित्र आफ्नो इजाजतपत्रको नवीकरण दस्तुर बुझाउन भनेको छ । त्यसो गर्दा कुनै पनि प्रकारको जरिवाना नलाग्ने समेत समितिले स्पष्ट पारेको छ ।

यस्तै सर्भेयरले सबै बीमा कम्पनीहरुलाई न्यूनतम बीमा सेवालाई निरन्तरता दिनुका साथै त्यस्तो सेवाको बारेमा आमसञ्चार र सामाजिक सञ्जालमार्फत् बीमित र सेवाग्राहीलाई जानकारी दिन समेत भनेको छ ।