शिखर इन्स्योरेन्सको हकप्रद निष्काशन स्थगित


कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले लक डाउन गरे पछि शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद निष्काशन स्थगित भएको छ ।

आज अर्थात चैत १२ गतेदेखि शिखर इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको थियो ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यकीय सेवा बाहेकका सेवा बन्द गर्ने घोषणा गरे अनुसार तत्काललाई हकप्रद निष्काशन स्थगन गरिएको हो ।

अर्को सूचना सार्वजनिक गर्दै शेयर निष्काशनको जानकारी गराइने थापाले नोटबजारलाई बताए ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशतले हुने ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्न लागेको थियो ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले गत फागुन १३ गते शेयर धनी दर्ता पुस्तिका बन्द गरिसकेको छ ।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।