चीनबाट स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने

0
Shares

कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ ।

सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ जाने र सामग्री आइतबार बिहानसम्म नेपाल ल्याइर्पुयाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् । एक निजी कम्पनीले आउँदो बुधबार आफ्नै पहलमा व्यापारिक प्रयोजनका लागि स्वास्थ्य सामग्री ल्याउने भएको छ ।

आइतबार ल्याइर्पुयाइने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् । सुरुमा चीनकै कार्गोले सामान ढुवानी गर्ने बताइए पनि पछि नेपाली जहाज नै जाने निधो भएको हो ।

स्वास्थ्य सामग्री ल्याउने विषयमा बुधबार साँझ व्यापारी र स्वास्थ्य सेवा विभागबीच छलफल भएको थियो । व्यापारीहरूले चीनको गोन्जाओमा भेला पारिएका सामग्री सरकारले खरिदबिक्री गर्ने सम्झौतासमेत भइसकेको छ ।