फ्रान्सबाट फर्किएकी नेपाली युवतीसँगै यात्रा गर्ने ७८ नेपाली क्वारन्टीनमा

0
Shares

चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत् दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारन्टीनमा रहेको खुलेको छ।

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारन्टीनमा रहेको प्रहरीले बीबीसी नेपालीलाई बताएको छ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने, ‘दोहाबाट नेपाल पर्किएकामध्ये ७८ जनासँग सम्पर्क गरी क्वारन्टीनमा पठाउनका निम्ति समन्वय गर्न प्रहरी सफल भएको छ।’

‘पासपोर्टमा उल्लिखित ठेगानाका आधारमा उनीहरूसँग सम्पर्क गर्न प्रहरी सफल भएको हो।’

जोशीका अनुसार पहिचान भएका ती व्यक्तिहरू काठमाण्डूका विभिन्न स्थान, ललितपुर, कास्की, स्याङ्जा र झापा लगायत जिल्लामा क्यारन्टीनमा बसिरहेका छन्।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थीसहित उक्त जहाजमा १५८ जना यात्रु रहेको बताइएको छ।

तीमध्ये प्रहरीले १३३ जनाको ठेगाना पत्ता लगाइसके पनि सबैजना गृह जिल्लामा पुगिनसेकको वा नबस्ने भएका कारणा सबैलाई सम्पर्क गर्न नसकेको प्रवक्ता जोशीले बताए।

स्वास्थ्यमन्त्रीले ती युवतीसँगै उक्त विमानबाट आएका मानिसहरूलाई सम्पर्कमा आइदिन अपील गरेका छन्

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको तथा तीनवटै उडानका सबै यात्रुका विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती युवती र त्यसअघि सङ्क्रमण पुष्टि भएका धादिङका अर्का व्यक्तिसँग आएका मानिसहरूलाई सम्पर्कमा आइदिन अपील गरेका थिए।

ती महिलासहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ।

नेपाल कोरोनाभाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

चैत्र ११ बिहानबाट लागु भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ।