शुक्रबार बेलुकासम्म सातै प्रदेशका ३३ केन्द्रमा ‘पीपीई’ पुर्याउने विनोद चौधरीको घोषणा

0
Shares

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले विश्वव्यापी फैलिएको कोरोन भाइरसको नियन्त्रणका लागि शुक्रबार बेलुकासम्ममा सातै प्रदेशका ३३ केन्द्रमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गर्ने योजना पूरा हुने बताएका छन्।

चौधरी फाउन्डेसनको टिम गर्ने योजना लिएर अगाडि बढेको र आजसम्ममा सबै केन्द्रमा पूरा भइसक्ने कुरा बिनोद चौधरीले आफ्नो फेसबुक स्टाटस मार्फत व्यक्त गरेका छन् । चार घण्टा अवधिमा उनको स्ट्याटसमा १ हजार ८०० जनाले लाईक गरेका छन् भने १६८ वटा प्रतिक्रिया व्यक्त भएको छ तथा ८१ वटा शेयर भैसकेको छ। अधिकांशले उनको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

”अहिलेको अत्यन्त विषम परिस्थितिका बीच चौधरी फाउन्डेसनको टिम सातै प्रदेशका ३३ केन्द्रमा व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने योजना लिएर अगाडि बढेको छ । सम्भवत: आज बेलुकीसम्ममा यी सबै केन्द्रमा पूरा भइसक्नेछ ।

यी केन्द्रबाहेक अझै पनि हामीलाई विभिन्न क्षेत्रबाट सुरक्षा उपकरणको माग आइरहेको छ । परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा हामी अत्यन्त संवेदनशील छौं। अहिलेसम्म जति केन्द्रमा सामग्री र्पुयाइएको छ, त्यहाँका स्वास्थ्यकर्मीमा आत्मसुरक्षाको अनुभूति पाएका छौं। तत्कालको आवश्यकता पूरा गरिए पनि यो आफैंमा कदापी पूर्ण छैन । सबै स्वास्थ्यकेन्द्रलाई सुरक्षा उपकरणबाट थप सुसज्जित तुल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु आजको प्राथमिक आवश्यकता हो ।

पहिलो चरणको काम सफलतापूर्वक सकेपछि अबको हाम्रो ध्यान परीक्षण किट, N95 मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । यी सामान आपूर्तिका लागि चीनका विभिन्न शहरमा तयार पारेर राखेका छौं र नेपाल भित्र्याउन उपयुक्त माध्यम खोज्न संघर्षरत छौं । ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव छ । यसका लागि हामीले सरकारलगायत सबै साझेदार मित्रहरूसँग निरन्तर सम्पर्कमा छौं । कसैले यो कार्यमा सहयोग र्पुयाउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौं ।

विषम परिस्थितिमा दिनरात खटेर ज्यानको जोखिम मोल्दै देशैभर सुरक्षा उपकरण बाँड्न हिँड्नुभएका हाम्रा सहकर्मीहरूप्रति विशेष आभार व्यक्त गर्दछु”