फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवती ‘डिस्चार्ज’

0
Shares

फ्रान्सबाट फर्किएकी कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्।

ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन्।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन्। काठमाडौँ महानगरपालिका ४ चुनदेवीकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सुख्खा खोकी बढेपछि गत शुक्रबार ट्रपिकल अस्पतालमा भर्ना भएकी थिइन्। 

दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो। तर, १४ दिन निगरानीमा राख्ने गरिएकाले उनी चुनदेवीस्थित आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छिन्।

पारिवारिक स्रोतका अनुसार उनलाई घरमा अलग्गै सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

नेपालमा कोराना संक्रमितको संख्या ४ पुगिसकेको छ। यसअघि एक व्यक्ति डिस्चार्ज भइसकेकाका छन्। अब ट्रपिकल अस्पतालमा एक जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक अर्का संक्रमित उपचार गराइरहेका छन्।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार  २१ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।