न्यूनतम आवागमन खुला गर्ने निर्णय, दूरी कायम गरेर किनमेल गर्न अपिल

0
Shares

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

भारतको कोलकाताबाट नेपालको भन्सार बिन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार बिन्दुदेखि बजारसम्मको बाटोमा सवारीसाधन सञ्चालन गर्न सहजीकरण गरिने भएको छ ।

त्यसैगरी विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्ने तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुऱ्याउने व्यवस्था मिलाउन न्यूनतम आवागमन खुला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

समितिले कोलकाताबाट नेपालको भन्सार बिन्दुसम्म आएर अड्किएका सामानहरू आवश्यक कागज बनाई छुटाउनुको साथै ती सामान उपभोक्तासम्म पुऱ्याउने व्यवस्था मिलाउन सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको छ ।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह गरेको छ ।

साथै एकैपटक भिडभाड हुने गरी बाहिर ननिस्कन र दूरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाई अपिल गरिएको छ।