विपदमा उदार मन: सुष्मा राईद्धारा एक महिनाको घरभाडा छुट घोषणा

0
Shares

गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्व आइसिसि सदस्य सुष्मा राईले आफ्नो घरमा भाडामा रही ब्यवसाय गर्दै आएका सबैलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेकी छिन।

कोरोना संक्रमण महामारीबाट घरवाहलमा बस्नेहरुलाई पर्नसक्ने आर्थिक मन्दीलाइ ध्यान दिँदै राईले ग्वार्कोस्थित आफ्नो घरमा बसेकाहरुलाई एक महिनाको भाडा छुट दिने भएकी हुन् ।

राइले त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु आफ्नो पनि कतव्र्य भएको भन्दै घरमा भाडामा बसिरहनुभएका हरूलाई एक महिनाको घरभाडा नलिने निर्णय लिएको बताएकी छिन् । यस्तो जानकारी भाडामा बस्ने सबैलाई गराएको आफ्नो निर्णयले सबै मिलेर कोरोनाबिरुद्ध लड्नका लागि सहयोग पुग्ने उनको भनाई छ।

  • यसअघि क-कसले गरेका थिए छुट ?

यसअघि मकवानपुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकी आफ्नो घरमा भाडामा बस्ने चार परिवारहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका थिए।

सांसद दिव्यमणी राजभण्डारीले पनि न्यूरोडस्थित आफ्नो व्यवसायिक कम्प्लेक्स दोलखा छेंमा भाडामा रहेकाहरुसँग दुई महिनाको भाडा नलिई उनीहरुलाई राहत दिने घोषणा गरेका थिए।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरूङले पनि पोखरा वडा नम्वर ६ जरेबरमा उपमेयर गुरूङको जग्गामा रहेको रेस्टुरेन्टलाई चैत महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेकी थिइन्।

पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मलले सटर भाडामा रहेकालाई ५० प्रतिशत छुट दिएको छ।

तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष झविन्द्र प्रसाद कंडेल लगायत पदाधिकारी तथा सदस्यहरुले भाडामा लगाउँदै आएका सटरको भाडा नलिने निर्णय गरेका छन् । अध्यक्ष कंडेलले भाडामा लगाउँदै आएको आफ्ना ९ वटा व्यवसायीक सटरको चैत्र महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेका छन् ।तिलोत्तमा चेम्बर अफ कमर्सका सचिव हरि प्रसाद उपाध्यायले पनि भाडामा लगाउंदै आएको १० वटा सटरको चैत्र महिनाको भाडा नलिने घोषणा गरेका छन् । संस्थाका कोषाध्यक्ष नेत्र प्रसाद न्यौपाने र सदस्यहरु विष्णु कालिराज र तोलाकान्त भण्डारीले पनि एकमहिनाको घरभाडा छुट गर्ने बताएका छन् । 

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष एवं व्यवसायि हेमुप्रसाद पाण्डेले एक महिनाको घर भाडा नलिने घोषणा गरेका छन्।

तनहुँका पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीसुर १ डुम्रे चन्द्रावति चोकमा ३० वटा शटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई १५ दिनको घरभाडा मिनाहा दिएका छन् भने पाँच वषसम्म २५ प्रतिशत छुट दिने भएका छन्।

तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वृषराज श्रेष्ठ र व्यास नगरपालिकाका दमौलीका माधव बहादुर पन्त, दमौलीका व्यवसायी बिष्णु पराजुली र नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय उपाध्यक्ष बालहरी अधिकारीले पनि आफ्नो घरमा वाहलमा बसोवास गर्ने तथा व्यवसाय गर्ने व्यवसायीहरुलाई चैत्र महिनाको भाडामा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन्।

दोलखा चरिकोटका घरबेटी मिङ्गुर शेर्पाले आफ्नो घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका धनबहादुर थामीलाई एक महिनाको भाडा निशुल्क गराएका छन् ।

सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पनि कोरोनाको विश्वव्यापी महामारी चलिरहेको बेलामा घर बहालमा छुट गरि घर भाडामा बस्ने परिवारलाई सहयोग गर्न अपिल गरेको छ।