विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसक्यो : आईएमएफ

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ ।

शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा आएको बताइन् ।

उनका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ ।

विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै क्रिस्टालिनाले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।

कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्ने घोषणा गरिएको लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र धर्मराएको छ । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा छ ।अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन् ।

आईएमएफ प्रमुख क्रिस्टालिनाले पनि विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी छिन् ।

प्रकाशित मिति: १५ चैत २०७६, शनिबार  १३ : ४८ बजे