लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

0
Shares

प्रहरी जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएअनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ वर्षीय राजेशकुमार झा रहेका छन् । प्रादेशिक अस्पताल जनकपुरस्थित बजरङ्ग जेनरल स्टोरमा मास्क प्रतिथान ७५० र पञ्जा प्रतिपोका ५०० रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा झालाई पक्राउ गरिएको जानकारी प्रनाउ कार्कीले जानकारी दिए। झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए।

त्यसैगरी शुक्रबार बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नं १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो ।

लकडाउन भएयता जनकपुरबाट कालोबजारी गर्ने १७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्ने सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्री कालोबजारी गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  ०७ : १३ बजे