विदेशबाट पाँचथर फर्किएका क्वारेन्टाइनमा

0
Shares

पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए।

सङ्कलित विवरणका आधारमा हिजोबाट क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवं कोभिड–१९ जोखिम न्यूनीकरण एवं समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिए।

जिल्लाका स्थानीय तहहरुले शुक्रबारसम्ममा १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिबारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले बताए।

शनिबार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। यस्तै हिलिहाङमा सात, कुम्मायकमा तीन, मिक्लाजुङमा एक र फिदिम नगरपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको छ। यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो।

  • फिदिमले बनायो द्रूतकार्य टोली

फिदिम नगरपालिकाकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रूतकार्य टोली गठन गरेको छ ।

नगरपालिकाको स्वास्थ्य एकाइका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने बिरामीलाई सचेत गराउने, उपचार, उद्धार एवं उपल्ला निकायमा सिफारिश गर्नेछ । नगरपालिकाभित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले बताए।

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न फिदिम नगरपालिकाले शनिबारबाट विलिपिङ पाउडर छर्किन शुरु गरेको छ। यहाँका अस्पताल, क्वारेन्टाइन निर्माण भएका स्थल, भीडभाड हुने तथा फोहर जम्मा हुने क्षेत्रमा उक्त पाउडर छर्किन थालिएको हो।

  • हरियो साग बाँड्दै वडाध्यक्ष

पाँचथरको फिदिम नगरपालिका–१ ले वडावासीलाई हरियो साग वितरण गरेको छ । फिदिमको शिवालय मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने शनिबारे हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बन्द गरिएपछि वडाले वडावासीलाई साग वितरण गरेको हो ।

वडाध्यक्ष गजाधर भट्टराईको सक्रियतामा रानीटार, नाम्दु तथा ढोडेनी क्षेत्रमा हरियो साग सङ्कलन गरी वडावासीलाई वितरण गरिएको हो । लकडाउनको पालनाका क्रममा घर बाहिर निस्कन नपाएका जिल्लाको सदरमुकामसमेत पर्ने फिदिम–१ का स्थानीयलाई निःशुल्क साग वितरण गरिएको वडाध्यक्ष भट्टराईले बताए।

फिदिम बजारवासीले शनिवारे हटियाबाट सागसब्जीको खरिद गर्ने गरेका थिए । तर, आजबाट उक्त हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बन्द गरिएपछि उपभोक्ता समस्यामा परेका थिए ।

  • जनप्रतिनिधिको एक महिनाको सुविधा विपत व्यवस्थापन कोषमा

यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाका सुविधा गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

गाउँ कार्यपालिकाको आकस्मिक बैठकले कोभिड–१९ को जोखिम न्यूनीकरण तथा कोभिड–१९ लगायत अन्य महामारी तथा दैवी विपत्तिको रोकथाम, सतर्कता, राहत वितरण तथा उद्धारकार्यका विपत् व्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो।

बैठकले उक्त कोषमा गाउँ कार्यपालिकाका सबै सदस्यको एक महिनाको सुविधा जम्मा गर्ने तथा आगामी दिनमा गाउँपालिकाको बजेट र दाताहरुको सहयोगसमेत सङ्कलन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए।

यस्तै उक्त गाउँपालिकाले कोभिड–१९ को प्रकोप तथा लकडाउनको प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका विपन्न वर्गका श्रमिक तथा मजदूरहरु, विपन्न, असाहाय र अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी राहत दिने भएको छ।
पहिलो चरणमा गाउँपालिकाका सात वडामा ५० जनाका दरले मजदूर, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गर्ने तयारी थालिने गाउँपालिका अध्यक्ष कुरुम्बाङले बताए।

गाउँपालिकाले कोभिड–१९ को प्रकोप रहुञ्जेल गाउँपालिकाभित्र खटिने सुरक्षाकर्मीको हौसला बढाउन प्रतिसुरक्षाकर्मी दैनिक २०० रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने तथा सवारीमा इन्धनको प्रबन्ध गरिदिने भएको छ।

पाँचथर–इलाम सीमावर्ती राँकेबजरमा निर्माण गरिएको क्वारेन्टाइनलाई आवश्यकतानुसार विस्तार गर्ने तथा आवश्यक औजार र उपकरणको प्रबन्ध गर्ने बैठकले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  ११ : ४५ बजे