मलमासले चाडपर्व धकेलियो: दसैंको टीका १० कात्तिकमा, १ मंसिरमा भाइटीका

0
Shares

आगामी वर्ष विसं २०७७ सालमा मलमास परेकाले चाडपर्व धकेलिएको छ। यससँग दशैंको टीका १० कात्तिकमा परेको छ भने भाइटीका मंसिर १ गते पुगेको हो ।

सरकारले २०७७ सालमा कूल ६४ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको हो ।

उक्त सूचीअनुसार वर्षका ५२ वटा शनिबार, वैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, बैशाख २५ गते बुद्ध जयन्ती, असोज ३ गते संविधान दिवस, दशैं ५ दिन र तिहार ३ दिन गरि कूल ६४ दिन सार्वजनिक बिदा हुनेछ ।

त्यस्तै, फागुन २४ गते महिला दिवस, फागुन २७ गते शिवरात्री, फागुपूर्णिमाका लागि चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा बिदा हुनेछ । यसरी हेर्दा कूल ६७ दिन बिदा देखिएपनि संविधान दिवस, दशैं र तिहारमा १।१ दिन शनिबार परेकाले कुल बिदा ६४ दिन हुनेछ।

दसैैंको फूलपाती कात्तिक ७ गते परेको छ । सरकारले ७ कात्तिकदेखि ११ कात्तिकसम्म ५ दिन दसैंको बिदा दिएको छ । यसैगरी तिहारका लागि कात्तिक २९ गते लक्ष्मी पूजादेखि १ कात्तिकसम्म सरकारले ३ दिन तिहारको बिदा दिएको छ । कात्तिक ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा परेको छ ।

सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म कार्यालय समय तोकेको छ भने माघ १६ देखि कात्तिक १५ गतेसम्म १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।
यसबाहेक विभिन्न जातजाति समुदायलाई पर्वविदा भने दिनेछ।

  • यस्तो छ पर्व विदा

सरकारले उपत्यकामा साउन २० गते गाईजात्रा, भदौ ५ गते हरितालिका तिज, भदौ १६ गते गते इन्द्रजात्रा, चैत २९ गते गते घोडेजात्रा र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेछ ।

त्यस्तै, वैशाख २५ गते उभौली पर्व, भदौ १० गते गते गौरा पर्व, भदौ २५गते जितिया पर्व, मंसिर ५ गते इदुल फित्र, छठपर्व, पुस १० गते क्रिसमस डे, पुस १५ गते उधौली पर्व, माघ १ गते माघेसंक्रान्ति, माघ ३० गते सोनाम ल्होसार, चैत १ गते ग्याल्पो ल्होसार। सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएको छ ।

त्यस्तै, फागुन ४ गते वसन्त पञ्चमीमा शिक्षण संस्थाहरु बिदा हुनेछन् भने मंसिर १८ गते अन्तर्राष्ट्रिय अपांग दिवसमा अपांगता भएका कर्मचारीका लागि बिदा हुनेछ । कात्तिक २५ गते महागुरु फाल्गुनन्दको जन्मजयन्ती र मंसिर १५ गते गुरु नानकको जन्म जयन्तीका दिन पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइने उल्लेख छ ।

  • राष्ट्रिय दिवसको सार्वजनिक बिदा छैन

सरकारले विभिन्न राष्ट्रिय दिवस मनाइने तर सार्वजनिक विदा नदिने भएको छ। जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, भदौ २२ गते निजामति सेवा दिवस, पुस २७ गते राष्ट्रिय एकता दिवस, माघ १६ गते शहीद दिवस तथा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसलाई राष्ट्रिय दिवस परेको छ।

यी सबै दिवसहरु मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।
सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने जनाइएको छ ।