संक्रमित चारमध्ये दुईको कन्ट्याक ट्रेसिङ्ग सकियो, बाँकी दुईको ८० प्रतिशत माथि

0
Shares

विदेशबाट फर्किएर संक्रमित रहेका चारमध्ये दुई जनाको कन्ट्याक ट्रेसिङ्ग सकिएको र बाँकी दुईको ८० प्रतिशत माथि सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन्। प्रवक्ता देवकोटा अनुसार संक्रमितको परिवार, वरिपरिका व्यक्ति, विदेशबाट आएकाहरु, खोजी गरेर क्यारेन्टाइनमा राखिएको बताएका छन्। ती व्यक्तिहरुको नमुना परीक्षणको क्रम जारी गरेको प्रवक्ता देवकोटाले जानकारी दिए।

उनका अनुसार कोभिन १९ को आशंकामा शुक्रराज ट्रपिकल अस्पताल टेकुमा १० जना, र प्रदेशहरुमा ७७ जना गरि कूल ८७ जना आइसोलेसनमा रहेका छन्। सरकारले विश्वभरी फैलिरहेको महामारी कोरोना भाइरस संक्रमित पत्ता लगाउन मंगलबारसम्म १ हजार ६० वटा परिक्षण गरेको छ। जसमा पाँच जनामा संक्रमण भेटिएकोमा १ जनालाई निको भैसकेको छ। चार जना अझै संक्रमित रहेका छन्।

यस्तै मन्त्रालयले हरेक प्रदेशमा १ हजार ३०० देखि २ हजार ५०० सम्म व्यक्तिगत सुरक्षा समाग्री (पीपीई) पुर्याएको छ। स्वास्थ्य सेवा विभागमा व्यक्तिगत सुरक्षा सामाग्री सहित अन्य उपकरणहरुको यथेष्ट मौज्दात रहेको उनले जानकारी दिए।

कोरोनका जानकारी तथा समन्वयका लागि मन्त्रालयले स्थापना गरेका दुईवटा कल सेन्टरबाट विगत २४ घण्टामा १ हजार ८०६ वटा कलको रेस्पन्स गरिएको छ। यस्तै पाटन अस्पलातलाई छिमेकी मुलुकहरुमा रहेका प्राविधिकहरुसँग टेलिकम्युनिकेशन मार्फत समन्वय गर्न तोकिएको देवकोटाले जानकारी दिए। जसअनुसार अबदेखि पाटन अस्पतालले छिमेकी मुलुकहरुसँग सम्पर्क गरेर विज्ञहरुसँग विभिन्न कुराहरु आदान प्रदान गर्नै जिम्मेवारी दिइएको छ।

  • मोफसलमा पीसिआर मेसिन पठाइयो, केही स्थानमा पुग्यो केहीमा पुग्ने क्रममा

स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएका तथा ल्याएका कोरोना उपचार सामाग्री तथा उपकरणहरुलाई राजधानी बाहिर मोफसलमा पठाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणको परिक्षणका लागि पाँचवटा पीसिआर मेसिन आएकोमा धरानबाट परीक्षण सुरु भैसकेको छ। मंगलबार पोखरामा जडान गरिएको छ भने धनगढीमा मेसिन पुगिसकेको छ । यस्तै जनकपुर, बुटवल र सुर्खेतमा जानेक्रममा रहेको बताइएको छ। यस्तै हेटौंडामा रहेको मेसिनलाई प्रयोग गर्नेगरि काठमाण्डौंबाट रिएजेन्ट पठाइएको छ।

वीर अस्पलाल र पाटनमा हिजो मृत्यु भएका दुबै जनाको रिर्पोट नेगेटिभ आएको मन्त्रालयका प्रपक्ता देवकोटाले जानकारी दिए। यी दुबैमा ज्वरोका बिरामी रहेको उनको भनाई छ।

अन्य रोगहरुमा पनि ज्वरो आउने र अपस्तालले कोरानाको आशंकामा नहेरिदिँदा मृत्यु समेत हुने भएकाले कुनैपनि अपस्तालले इमजेन्सि सेवा नदिने कार्य नगर्न प्रवक्ता देवकोटाले आग्रह गरेका छन्। यससम्बन्धी मन्त्रालयले काम गरिरहेको र गम्भिर रुपमा हेरिरहेको उनको भनाई थियो।

विदेशबाट आएकाहरुमा मात्र संक्रमण भेटिएको भन्दै आफ्ना परिवारका सदस्यहरुलाई पनि सारेको हुनसक्ने भएकाले घरमै क्वारेन्टाइनमा बस्न देवकोटाले आग्रह गरेका छन्।