लकडाउन अवज्ञा गर्नेप्रति प्रहरी कठोर, मंगलबार ३०१ सवारीसाधन प्रहरी नियन्त्रणमा

0
Shares

कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०१ सवारीसाधनलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे २७५ र चारपाङ्ग्रे २६ रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत १८ गते बेलुका ७ बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गते मंगलबारदेखि यही चैत २५ गते राती १२ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कनेहरुको सवारी प्रहरीले नियन्त्रणमा लिँदै आएको छ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधबार  ०७ : ०३ बजे