कोषमा राहत जम्मा गर्न कीर्तिपुर नगरपालिकाको आह्वान

0
Shares

काठमाडौंको कीर्तिपुर नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका व्यक्तिलाई राहत दिन आज ५० लाखको राहत कोष स्थापना गरेको छ ।

यहाँका दैनिक ज्यालामा काम गर्ने श्रमिक तथा स्थानीयवासीलाई दैनिक जीवनयापनमा सहज पार्न नेपाल सरकारको योजना अनुसार नगरपालिकाले कोष स्थापना गरेको हो ।

नेपाल सरकारले कोही पनि भोको नहोस् भन्ने अपेक्षासहित राहतको कार्यक्रम घोषणा गरिसकेको सन्दर्भमा उक्त कोषमार्फत आवश्यक पर्ने परिवारलाई खाद्यान्न र राहतको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

कोषमा जम्मा हुने रकमको खर्च गर्ने कार्यविधि तयार भइरहेको नगरपालिका प्रमुख रमेश महर्जनले जानकारी दिए। उक्त कोषमा सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्था, गैरआवासीय नेपाली, स्वदेशी विदेशी दाता, निकाय, उद्योग व्यवसायी, पेशाकर्मी, नागरिक समाजलगायत सबैमा नगरपालिकाले अपिल गरेको छ ।

विश्वव्यापी विपत्तिको यस घडीमा आर्थिक र नगद सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संस्थाले नगरपालिकाका नाममा राष्ट्रिय वाणिज्य बैंक, कीर्तिपुर शाखाको खाता नं १७००३०४०३८३०३ मा नगद जम्मा गर्न र खाद्यलगायत सामग्री सहयोग गर्न चाहनेले नगरपालिकाको विपद् व्यवस्थापन शाखामा सम्पर्क गर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  २० : ४९ बजे