हालसम्म सङ्क्रमण पुष्टि भएका नजिकका सम्भावित सबै व्यक्तिको ‘र्‍यापिड’ परीक्षण गरिने

0
Shares

सरकारले कोभिड–१९ सङ्क्रमणको सम्भावना भएका व्यक्तिहरुलाई ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिको परिवार, नजीकका व्यक्ति, यही महिना विदेशबाट आएका व्यक्ति र तिनका सम्पर्कमा आएकामा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने भन्दै परीक्षण गर्न लागिएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त प्रविधिबाट ‘पोजिटिभ’ देखिए पिसिआर प्रविधिबाट पुनःपरीक्षण गरेर यकिन गरिने बताए। कैलाली र कञ्चनपुरमा सङ्क्रमण देखिएका व्यक्तिका परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्तिसँगै सबै क्वारेन्टाइनका व्यक्तिहरुको यस्तो परीक्षण गर्न लागिएको हो। बाग्लुङ जिल्लामा पनि उपचाररत सङ्क्रमित व्यक्तिका बासस्थान वरपर र सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने भएको छ ।

चैत महिनामा विदेशबाट आएका सबै र अरूसँग लागेका व्यक्तिमा सो परीक्षण गरिने जानकारी प्रवक्ता डा. देवकोटाले दिए। मन्त्रिपरिषद्को निर्णयानुसार यस्तो परीक्षण गर्न लागिएको उनको भनाई थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार ५२९ जनामा कोभिड–१९ को परीक्षण गरिसकेको छ । उपत्यका बाहिर धरान, पोखरा, जनकपुर, हेटौंडा, सुर्खेत र धनगढीमा नमूना परीक्षण शुरु भइसकेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए। चितवनमा आजदेखि शुरु भए पनि बुटवलमा आज शुरु हुन नसकेको पनि उनले बताए । उनले भने, “त्यहाँ भोलिबाट सो परीक्षण शुरु हुनेछ ।”

काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरी जम्मा ११३ जना व्यक्ति आइसोलेशनमा रहेका छन् । सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबै सङ्क्रमित व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ शुरु भइसकेको प्रवक्ता डा देवकोटाले बताए । हिजो सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिको ‘कन्ट्याक टे«सिङ’ भइसकेको पनि डा. देवकोटाले बताए।

  • खरिपाटी क्वारेन्टाइनका सबैमा नेगेटिभ

भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सेवामा खटिएका व्यक्तिलाई बाधा वा विरोध गर्नेलाई कारवाहीको व्यवस्था गरेको थियो । यसले गर्दा कार्यरत सबै स्वास्थ्यकर्मीको थप मनोबल बढेको उनको भनाइ छ ।

क्वारेन्टाइन गुणस्तर मापदण्डानुसार सञ्चालन हुनुपर्नेमा प्रवक्ता डा. देवकोटाले जोड दिनुभयो । यी क्वारेन्टाइनहरुको अनुगमन भइरहेको पनि उनले बताउनुभयो । सबै अस्पतालले सेवा लिन आउने बिरामीलाई आकस्मिक सबै सेवा दिनुपर्ने उनले बताउनुभयो । उनले भने, “कुनै पनि समस्या लिएर आएका बिरामीले एक अस्पतालबाट अर्कोमा जाने अवस्था आउन दिनु हुँदैन ।”

विदेशबाट आएका व्यक्तिबाट उनको परिवारको सदस्यमा सङ्क्रमण देखिएसँगै नेपालमा रोगले दोस्रो अवस्थामा प्रवेश गरेको उनले बताए ।

विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा नबसी परिवारका सदस्यसँग सम्पर्कमा आउँदा सङ्क्रमण फैलन सक्ने भन्दै उहाँले क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन्। उनले भने, “सङ्क्रमित व्यक्तिबाट सङ्क्रमण परिवारका सदस्यमा सरेकाले पनि क्वारेइन्टाइन कति महत्वपूर्ण छ भनी देखिएको छ ।”

सरकारलाई नेपाल–भारत मानव विकास मैत्री सङ्घले ३०० र एनएमबी ७०० थान पिपिई प्राप्त भएको उनले बताए। त्यसलाई हरेक प्रदेशमा सयसय वितरण गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  २१ : १३ बजे