खरिपाटी क्वारेन्टाइनका ९४ को रिपोर्ट नेगेटिभः १५ सयको परीक्षण, ११३ को उपचार

0
Shares

स्थानीय खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। यही चैत २१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित मुलुकबाट आएका ९४ जनाको थ्रोट स्वाब संकलन गरेको थियो । त्यसको रिपोर्ट आज आएको र सबैको कोरोना नेगेटिभ रहेको उनले जानकारी दिए ।

यही चैत ८ गते संयुक्त अरब इमिरेट्स, कतारलगायत देशबाट फर्किएकामध्ये थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट खरीपाटीस्थित क्वारेन्टाइन पु¥याइएको थियो भने त्यसपछि विदेशबाट फर्किएका थप नागरिकलाई पनि त्यहीँ राखिएको थियो ।

खरीपाटीको क्वारेन्टाइनका तीन भवनमा २० महिला र ७४ पुरुष राखिएको थियो । स्वाब परीक्षणको नतिजा नेगेटिभ आएकाले क्वारेन्टाइनमा रहेकाहरुलाई आजै घर पठाइएको छ । यसअघि चीनको वुहानबाट उद्धार गरिएका १७५ विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको र रिपोर्ट सामान्य आएपछि घर पठाइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले आजसम्म कूल एक हजार ५२९ जनाको कोरोना परीक्षण भएको जानकारी दिए। उनले परीक्षण भएकामध्ये नौ जनामा कोरोना पुष्टि भएको र अन्य ११३ जनाको आइसोलेशनमा उपचार भइरहेको जानकारी दिए। काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर ११३ जनाको आइसोलेशनमा उपचार भइरहेको उनले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुसहित अहिले देशभरका सात स्थानमा कोरोना परीक्षण शुरु भएको छ । काठमाडौं उपत्यका बाहिर धरान, पोखरा, जनकपुर, वीरेन्द्रनगर, हेटौंँडा र धनगढीमा परीक्षण भइरहेको छ ।

देवकोटाका अनुसार बुटवलमा सोमबारदेखि परीक्षण शुरु हुनेछ भने चितवनमा आजैदेखि परीक्षण भएको छ । चितवनमा परीक्षण शुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा जाँच शुरु भएको हो ।

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  २१ : ४० बजे