कोरोनाभाइरस: ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

0
Shares

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

आइतवार साँझ उनलाई ‘लक्षणहरू उस्तैू देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो। उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको छ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गका अनुसार प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको छ।

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए। उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए।

त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे। उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए।

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  ०७ : ५८ बजे