सुदूरपश्चिम कोभिड–१९ को उच्च जोखिममा

0
Shares

शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।

कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ। सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो। नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् ।

भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ ।

चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो ।

सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।

त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले बताए।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताए।

“सङ्ख्यात्मक रूपमा सङ्क्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो”, उनले रासससित भने, “धनगढीमा महिलामाथि स्थानीय सङ्क्रमण देखिनुलाई झन जोखिम मानिएको छ ।” उहाँले ती महिलामा दोस्रो चरणको सङ्क्रमण देखिएको बताए।

“तेस्रो चरणमा देखिएपछि महामारीकै रुपमा फैलिने सम्भावना हुन्छ”, उनले भने, “यसको सबैभन्दा राम्रो उपाय भनेकै घरभित्र सुरक्षित बस्ने नै हो ।” उनले सरकारको निर्देशिकाबमोजिम यहाँका ८८ वटै स्थानीय तहले भारत लगायत तेस्रो मुलुकबाट आएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरिरहेको बताए। “तथ्याङ्क सङ्कलनमा यहाँका ८०० वटै स्वास्थ्य सङ्ख्या समेत खटिएको अवस्था छ”, डा अवस्थीले भने, “स्वास्थ्य सामग्री केही मात्रामा छ, फैलियो भने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामान नै नहुने अवस्था छ ।” उनले पिपिइलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र दातृ निकायसित पनि सधैँ कुराकानी भइरहेको बताए।

त्यसैगरी यहाँका क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब सङ्कलनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सकसहित सात जनाको टोली सुदूरपश्चिम पठाउन लागेको उनले जानकारी दिए। भारतबाट कैलालीको लम्की र कञ्चनपुरका दुईमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिममा त्रास अझ बढेको पाइन्छ ।

“भारतमा विभिन्न शहरमा महामारी फैलिएपछि लाखौँको सङ्ख्यामा सर्वसाधारण घर फर्के”, अवस्थीले भने, “लकडाउनको तयारी हुँदै गर्दा सीमाबाट ठूलो सङ्ख्यामा आए पनि तिनको रेकर्ड राख्न सकिएन ।” उनका अनुसार चैत ११ गते नाकामा थुप्रेकामध्येबाटै एक युवकमा सङ्क्रमण देखियो । अब सङ्क्रमित बढे स्वास्थ्य सामग्री अभाव हुने अवस्था छ भन्दै उहाँले सङ्क्रमणलाई गम्भीर रूपमा लिन सुदूरपश्चिमेली नागरिकसित आग्रह समेत गरेका छन्।

चार जना सङ्क्रमित भइसकेको सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ भने बैतडी र डोटीमा पनि परीक्षणका लागि आवश्यक मेशिन उपकरण जडानको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
सुदूरपश्चिम सङ्क्रमणको जोखिममा रहेको भन्दै सङ्घीय सरकारले पनि कैलाली र कञ्चनपुरमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिड टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गरेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना सङ्क्रमण नियन्त्रणका लागि उपचार र आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।

आइतबार मुख्यमन्त्री भट्टले क्वारेन्टाइन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन, कालोबजारी नियन्त्रण, खाद्यान्न आपूर्ति यहाँका विषयगत मन्त्रीलाई जिम्मेवारी दिएर अघि बढिरहेको जानकारी दिए। “सङ्क्रमित बढ्दा अझ बढी तयारी गर्नुपर्ने देखियो”, उहाँले भन्नुभयो, “महामारीको कहरमा निजी अस्पताललाई पनि स्वास्थ्य सेवा दिन हातेमालो गर्न आह्वान गर्छु ।”

उनले प्रदेश सरकारले ४० करोडको कोष स्थापना गरेर यहाँका गरिब, विपन्न र ज्यालादारी गरी खाने वर्गलाई राहत वितरण गर्न कोषमा निजी क्षेत्र, विभिन्न सङ्घ, संस्था र निकायबाट सहयोग उपलब्ध भइरहेको बताए। “सङ्क्रिमत बढेसँगै सङ्घीय सरकारसँग गम्भीररूपमा सहकार्य हुँदैछ”, उनले भने, “भारत लगायत अन्य मुलुकबाट घर फर्किएका नागरिकलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु ।”

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  ०८ : ५३ बजे