भन्सार अधिकृत, पैठारीकर्ता र एजेन्टको मिलोमतोमा ५५ लाख राजस्व चुहावट

0
Shares

मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार र प्रमुख विक सहित ५ जनाले ५५ लाख रुपैयाँ भष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दर्ता गरेको छ ।

भन्सार कार्यालय मेचीका जिम्मेवार कर्मचारीहरुले पैठारीकर्ता तथा भन्सार एजेन्टसँग मिलेमतो गरी ६५ लाख ४० हजार ६ रुपैयाँ ३३ पैसा राजस्व रकम लिनुपर्नेमा न्यून मूल्याङ्कन गरी सोही आधारमा १० लाख २९ हजार ४१० रुपैयाँ मात्र भन्सार महसुल र भ्याट लिएर भन्सार जाँचपास गरेको देखिएको अख्तियारको ठहर छ ।

आयोगले राजश्व चुहावटमा मिलोमतो गर्ने सागर एण्ड साधना विजनेश प्रा.लि. का संचालक लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डे, भन्सार विन्दुमा मालवस्तुको भौतिक परीक्षणका लागि खटिएका भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडा विरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ अनियमितता गरेको ठहर गरेको छ।

उनीहरुले एकआपसमा मिलेमतो गरी बदनियतपूर्वक भन्सार प्रज्ञानपत्रमा मालवस्तुको गलत घोषणा गरी गराई वास्तविक तिर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गरी गराई मालवस्तु पैठारी गरेको र नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमलाई हानिनोक्सानी हुने गरी न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको स्पष्ट देखिन आएकोले निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क), (ख) र (घ) र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दायर गरेको छ ।