काठमाडौँ। एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’मा निष्काशनको तीन कार्यदिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीका अनुसार असोज १२ गते साँझ ५ बजेसम्म ८. करोड रुपैयाँभन्दा बढी रकमको इकाई खरिदका लागि आवेदन परेको हो ।
फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८ करोड इकाई निष्काशन गरेको थियो । जसमध्ये न्यूनतम १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई योजना प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिएको थियो ।
इकाई खरिदका लागि असोज ७ गतेदेखि असोज १३ गतेसम्म आवेदन खुला गरिएकोमा मागभन्दा बढी आवेदन परिसकेको कम्पनीले जनाएको छ । आवेदनमा थप वृद्धि भएमा स्वीकृत विवरण पुस्तिकामा भएको व्यवस्थाअनुसार योजनाको आकार ८० करोड रुपैयाँबाट बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिनेछ ।
कम्पनीका अनुसार असोज १३ गते बुधबार बैंकिङ समयपश्चात् इकाई खरिदका लागि आवेदन लिने कार्य बन्द हुनेछ । योजनाको आकार बढाउने अवस्था रहेमा सोहीअनुसार थप आवेदनसमेत समेटिनेछ ।
एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड १० वर्ष अवधिको छैठौँ बन्दमुखी योजना हो । योजनामार्फत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गरिनेछ । राम्रो प्रतिफल तथा वृद्धि सम्भावना भएका कम्पनीको अध्ययन तथा अनुसन्धान गरी लगानी गर्ने योजना रहेको क्यापिटलले जनाएको छ ।
योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ ।
योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको परिचयपत्र प्राप्त व्यक्ति, प्रचलित कानुनअनुसार दर्ता भएका नेपाली फर्म तथा संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सञ्चय कोष, कल्याणकारी कोष, गुठी तथा अक्षय कोषजस्ता विभिन्न कोषले समेत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।









