सरकारले चीनबाट ७६ र भारतबाट ५३ थरीका स्वास्थ्य सामग्री ल्याउने

0
Shares

नेपाल सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथामका निम्ति विदेशबाट खरिद गरेर ल्याउने औषधी र स्वास्थ्य सामानहरूको सूची टुङ्गो लगाएको छ।

नेपाली सेनाले दुई छिमेकी देशहरू चीन र भारतबाट ‘जीटुजी’ विधिमार्फत् ती सामानहरू किनेर ल्याउने भएको हो।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार चीनबाट ७६ थरी र भारतबाट ५३ थरीका सामग्री ल्याइने अहिलेसम्मको निर्णय छ। चीनबाट स्वास्थ्य उपकरण लगायतका सामान र भारतबाट औषधी ल्याउने निचोड निकालिएको छ।

चीनबाट ल्याइने सामानहरूमा स्वास्थ्यकर्मीका निम्ति सुरक्षा पोशाक, पीपीई, एन एन-९५ मास्क र पीसीआर जाँचको निम्ति आवश्यक रसायन लगायत छन्।

नेपाली सेनाले विभिन्न पक्षसँगको परामर्शमा बनाएको सूची रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ। अब त्यो परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित देशमा पठाइने बताइएको छ।

नेपालले दुई छिमेकीसँग सामान खरिद गर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ गते भारतीय प्रधानमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख १ गते चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका थिए।