कोरोना जितेकी बागलुङकी ६५ वर्षीया मनकुमारी यसरी फर्किन् घर

0
Shares

नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिला कोरोना निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित मनकुमारी पौडेल उपचारपछि निको भएर धौलागिरि अञ्चल अस्पताल बागलुङबाट घर फर्किएकी हुन्।  डिस्चार्ज भएकी पौडेल सुगर र ब्लड प्रेसरको बिरामी भएरपनि कोरोनालाइ जितेकी हुन ।

१७ दिनदेखि उपचाररत उनको आज साँझ डिचार्ज गरिएको हो। उनलाई २० चैत साँझ बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

उनी ४ चैतमा बेल्जियमबाट कतार हुँदै कतार एअरको क्यूआर ६५२ को फ्लाइटबाट उनी नेपाल आएकी थिइन्।

उनीसँगै आएकी बागलुङ–३ कै १९ वर्षीय युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। ती युवतीको भने १७ चैतमा संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको छ।

कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने उनी तेस्रो व्यक्ति हुन्। त्यसैगरी, काठमाडौंमा कोभिड–१९ को उपचार गराइरहेकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पनि आजै अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

श्रेष्ठ कोभिड–१९ को सफल उपाचार गरेर घर फर्कने दोस्रो व्यक्ति हुन्। यसअघि चीनको वुहानबाट फर्किएका एक युवामा नेपालमा पहिलोपटक कोभिड–१९ देखिएको थियो। उनी यसअघि नै डिस्चार्ज भइसकेका छन्।