कैलालीका २१ वर्षीय युवाले पनि जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

0
Shares

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित २१ वर्षीय युवक १६ दिन अस्पताल बसाइपछि निको भई आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किने भएका छन्।

उनी कोरोना संक्रमित भएर डिस्चार्ज हुने चौथो व्यक्ति हुन्।

शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल तथा त्यसअघि पहिलो संक्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किसकेका छन्।

गत चैत ११ गते भारतको मुम्बईबाट घर फर्किएका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। कोरोना पोजेटिभ देखिएपछि उनी सेती अस्पताल भर्ना भएका थिए। अब भने उनी कोरोनालाई जितेर घर फर्किने भएका हुन्।

सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले ती युवाको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी गरिएको बताए।

सेती प्रादेशिक अस्पतालमा उनीसहित पाँच संक्रमित उपचाररत थिए। अन्य सबै चारै संक्रमितको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमितमध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक र उनकी ३४ बर्षीय भाउजु, तथा लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।