शेयर बजार आइतबारदेखि खुल्ने, कारोबार भने मंगलबारबाट मात्रै

0
Shares

आगामी आइतबारबाट शेयर बजार खुला गरिने भएपनि शेयर कारोबार भने मंगलबार बाट मात्रै खुला हुने भएको छ। आइतबार र सोमबार आवश्यक तयारी गरि मंगलबारदेखि शेयर कारोबार खुला गरिने भएको हो।

नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई आगामी आइतबारदेखि कार्यालय तथा मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा कारोबार संचालन गर्न निर्देशन दिएको छ। चैत १० गतेदेखि बन्द रहेको शेयर बजार ५० दिनपछि खुला हुने भएको हो। 

बोर्डले डिजिटल कारोबारका लागि ब्रोकर तथा नेप्सेलाई प्रोत्साहन गर्ने निर्देशन दिएको छ। सरकारले लकडाउनलाई केहि खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बीमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरे संगै शेयर कारोबार सुचारु हुन् लागेको हो ।

साथै बोर्डले बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था समेत गरेको छ। कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशत भन्दा माथिले बजार घटबढ हुँदा सर्किट लाग्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

शेयरमूल्यमा ३ प्रतिशत घटबढ हुुने व्यवस्था गरिएको छ । लगानीकर्ताहरुले सिडिएससीबाट लिइएको मेरो शेयरको नवीकरण शुल्क ५० रुपैयाँ समेत निशुल्क गरिएको छ।

यस्तै ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, सिडीएस एण्ड क्लियरिङ्ग, डिपी लगायत बजार सम्बद्ध संस्थाहलाई बोर्डले नै पास उपलब्ध गराउने भएको छ। पासका लागि इमेल मार्फत सम्पर्क गर्नुपर्नेछ।