पुँजीबजार सुधार कार्ययोजनाको सकारात्मक प्रभाव, एक सातामै ८७ अंकले बढ्यो नेप्से


काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । यो साताको सुरुवातदेखि उतारचढाव देखिए पनि अन्तिममा नेप्से परिसूचक ८७ अंकभन्दा बढीले बढेको छ । यो अवधिमा कारोबार रकममा पनि सुधार आएको छ ।

साताको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से बढेको छ भने एक दिन घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २५५९.४९ विन्दुमा बन्द भएको थियो । यस साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको हो । एक सातामा सेयर बजार परिसुचक (नेप्से) ८७.७३ अंकले बढेको छ ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से २५.५५ अंकले बढेको थियो । त्यसपछि मंगलबार सरकारले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि बजारमा थप उत्साह देखियो । मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको थियो ।

तर, लगातार दुई दिनको वृद्धिपछि बुधबार भने बजारमा करेक्सन देखियो । सो दिन नेप्से २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको थियो । बिहीबार नेप्से पुनः ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको नेप्से शुक्रबार २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर बजार बन्द भएको हो ।

कारोबार रकममा पनि साताको अन्त्यतिर सुधार देखिएको छ । सोमबार ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ८ अर्ब २९ करोड रुपैयाँ पुगेको थियो । जुन पछिल्लो दुई महिनायताकै उच्च कारोबार रकम हो । यसअघि वैशाख २ गते १० अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यसपछि यो साताको मंगलबार कारोबार रकम ८ अर्बमाथि पुगेको छ । बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको कारोबार रकम बिहीबार ५ अर्ब ४९ करोड ९३ लाख र शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

शुक्रबार ३४५ कम्पनीका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर ६४ हजार ७२ पटक किनबेच भएका छन् ।

२१ बुँदे कार्ययोजनामा के छ ?

अर्थ मन्त्रालयले ल्याएको २१ बुँदे कार्ययोजनामा प्राथमिक बजारदेखि दोस्रो बजारसम्म सुधार गर्ने विषय समेटिएका छन् । सरकारले बैंक तथा वित्तीय संस्थाको सेयर लगानी अवधि घटाउने, व्यक्तिगत लगानीकर्ताको पुँजीगत लाभकर घटाउने, संस्थागत लगानी बढाउने तथा नयाँ वित्तीय उपकरणको विकास गर्ने योजना अघि सारेको छ ।

कार्ययोजनाअनुसार बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा लगानी गरेपछि सेयर होल्ड गर्नुपर्ने अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गर्ने व्यवस्था अघि सारिएको छ । त्यस्तै, ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्नेका लागि पुँजीगत लाभकर ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम होल्ड गर्नेका लागि ५ प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ । हाल यस्तो कर क्रमशः ७.५ प्रतिशत र १० प्रतिशत रहेको छ ।

संस्थागत लगानीकर्ताको धितोपत्र बजारमा लगानी सहज बनाउने योजना पनि कार्ययोजनामा छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्तालाई लगानी विस्तार गर्न सहज बनाउने नीति अघि सारिएको छ ।

प्राथमिक बजार सुधारतर्फ धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका जारी गर्नेछ । सार्वजनिक निष्कासनका समूह तय गरी सेयर बाँडफाँट प्रणाली तयार गरेर पुस मसान्तभित्र लागू गर्ने योजना अघि सारिएको छ ।

त्यस्तै, म्युचुअल फन्ड, मुद्रा बजार र एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) जस्ता वित्तीय उपकरण विकासका लागि आवश्यक नीति तथा पूर्वाधार मंसिर मसान्तभित्र तयार गर्ने उल्लेख छ । धितोपत्र ब्रोकर व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरणका लागि पनि नीति सार्वजनिक गर्ने योजना छ ।

दोस्रो बजारलाई थप व्यवस्थित बनाउन मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङलगायतका उपकरण सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने विषय पनि कार्ययोजनामा समेटिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संस्थागत सुदृढीकरण, संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिका लागि कार्यदलले तयार गरेको प्रतिवेदनअनुसार प्रक्रिया अघि बढाउने भनिएको छ ।

गैरआवासीय नेपालीलाई नेपालको दोस्रो बजारमा सहभागी गराउने योजनाअनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र विदेशी विनिमय नियमित गर्ने ऐनमा संशोधन प्रस्ताव असोज मसान्तभित्र मन्त्रिपरिषद्मा पेस गर्ने उल्लेख छ ।

यसैगरी, हरित ऋणपत्र, विपद् ऋणपत्र, सामाजिक ऋणपत्र र परियोजना विशेष ऋणपत्रजस्ता विशिष्टीकृत ऋणपत्रको निष्कासनलाई प्रोत्साहन गर्न आवश्यक नीति तयार गर्ने योजना छ । ट्रेजरी बिल तथा विकास ऋणपत्रको सक्रिय दोस्रो बजारका लागि कारोबार शुल्क पुनरावलोकन गरी आवश्यक नीतिगत तथा बजार पूर्वाधार तयार गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजना सार्वजनिक भएको कारोबार दिन मंगलबारनै नेप्से ४८.५७ अंकले बढ्नुका साथै कारोबार रकम ८ अर्ब २९ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि बुधबार बजार घटे पनि बिहीबार र शुक्रबार पुनः वृद्धि भएको छ ।

साताभर केही लघुवित्त, जलविद्युत तथा वित्तीय कम्पनीको सेयरमा उल्लेख्य वृद्धि देखिएको छ । धौलागिरी लघुवित्त मंगलबार १४.९६ प्रतिशत र बिहीबार १२.४३ प्रतिशतले बढेको थियो । शुक्रबार स्नो रिभर्सको सेयरमूल्य १३.६६ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको सेयरमूल्य पनि बुधबार र बिहीबार लगातार बढेको थियो ।

यता, केही कम्पनीमा भने बिक्री चाप देखिएको छ । उपकार लघुवित्तको सेयरमूल्य सोमबार ८.२३ प्रतिशतले घटेको थियो भने शुक्रबार हाथवे इन्भेष्टमेन्ट नेपालको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सरकारले पुँजीबजार सुधारका लागि अघि सारेको २१ बुँदे कार्ययोजना सार्वजनिक भएको सातामै नेप्से ६२.१८ अंकले बढेको छ । कारोबार रकम पनि साताको अन्तिम दिन ६ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।