कम्पनीहरुले वितरण गर्ने लाभांश के हो?

0
Shares

कुनै पनि पब्लिक कम्पनीले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने मुनाफाको अंशलाई लाभांश भनिन्छ । कुनै पनि कम्पनीको लाभांश दुई किसिमबाट वितरण गरिन्छ ।

१) बोनस शेयर

२) नगद लाभांश ।

यदि लाभांश नगदमा बाँडिन्छ भने त्यसलाई नगद लाभांश भनिन्छ । यदि लाभांशलाई शेयरमा वितरण गरिन्छ भने त्यसलाई बोनस शेयर (स्टक डिभिडेन्ड) भनिन्छ ।

नेपालको हकमा सूचीकृत कम्पनीहरुको साधारण सभा कुनैपनि आर्थिक वर्ष समाप्त भएको ६ महिना अर्थात अर्को आवको पुस मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्छ। नत्र त्यस्तो कम्पनी खराब कम्पनीको सूचीमा पर्नुका सार्थ बिलम्व शुल्क समेत तिर्नुपर्नेहुन्छ।

लगानीकर्ताहरुको चासो भनेको कुन कम्पनीले कति लाभांश दिँदै छ, अझ कति बोनस र कति नगद लाभांश दिँदैछ, भन्नेमा नै चासो दिने गरेको पाइन्छ । लाभांश घोषणा गर्ने र साधारण सभा बोलाउने समयमा शेयर बजारमा अन्य समयमा भन्दा बुलिस प्रवृत्तिमा देखिने गर्दछ।

  • बोनस शेयर के हो?

कुनै पनि सूचीकृत कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि आफ्ना शेयरधनीहरुलाई बिना कुनै मूल्य वितरण गर्ने शेयरलाई बोनस शेयर भनिन्छ। यस्तो शेयर कम्पनीको मुनाफा वा वितरण योग्य मुनाफा रकमबाट दिइन्छ ।

कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी विद्यमान अवधिमा कायम भएका शेयरधनीहरुलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर नै बोनस शेयर हो ।

कुनै पनि कम्पनीको बोनस शेयर पाउनका लागि बुकक्लोज हुनुभन्दा अगाडि नै उक्त कम्पनीको शेयरधनी बनिसक्नुपर्र्ने हुन्छ। बुकक्लोजपछि शेयर किन्ने लगानीकर्ताहरुले कुनैपनि लाभांश पाउँदैनन्।

बोनस शेयर सामान्यतया शेयरधनीले लिएको शेयर संख्याको आधारमा वितरण गरिन्छ । जस्तैः लगानीकर्तासँग कुनै कम्पनीको २०० कित्ता शेयर छ । उक्त कम्पनीले २० प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गर्छ भने अब लगानीकर्तासँग ४० कित्ता बोनस थपिएर २४० कित्ता शेयर पुग्नेछ ।

कुन अवस्थामा बोनस शेयर जारी गर्न मिल्छ र मिल्दैन भन्नेबारेमा बोनस शेयर निष्काशन निर्देशिकाले स्पष्ट व्यवस्था गरेको छ ।

  • नगद लाभांश के हो?

कम्पनीले आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगदमा दिइने प्रतिफललाई नगद लाभांश भनिन्छ ।  बोनस बापत प्राप्त शेयरबाट कम्पनीको चुक्ता पूँजी वृद्धि हुन्छ भने नगद लाभांश सिधै शेयरधनीको बैंक खातामा जम्मा हुन्छ ।

यद्यपी कुनै पनि कम्पनीको लाभांश पाउनका लागि बुकक्लोज हुनुभन्दा अगाडि नै उक्त कम्पनीको शेयरधनी बनिसक्नुपर्र्ने हुन्छ । यदि बुकक्लोज भएपछि उक्त कम्पनीको शेयर खरीद गरेमा कम्पनीले वितरण गर्ने लाभांशको हिस्सेदार बन्न पाइदैन् । बुक्लोजको सूचना कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्छ ।

यसरी लगानीकर्ताहरुले समयमा नै आफूले चाहेको कम्पनीको शेयर खरीद गरी लाभांश सुरक्षित गर्न सक्नेछन् । यसका लागि कम्पनीले समय–समयमा प्रकाशन गर्ने सूचना तथा विवरणका बारेमा जानकार हुन जरुरी छ ।

  • नगद लभांश र बोनस शेयर कुन धेरै फाइदाजनक ?

अन्तर्राष्ट्रिय बजारमा बोनस शेयरको अवधारण ज्यादै न्यून मात्रामा हुन्छ । नगद लाभांश कम्पनीहरुको पहिलो प्राथमिकतामा पर्छन् । कम्पनीका लागि आवश्यक पूँजी पहिले नै जुटाई सकेको हुनाले अन्य मुलुकमा नगद लाभांश वितरणको अभ्यास बढी हुने भएको हो ।

नेपालको सन्दर्भमा भने ठीक उल्टो हुने गरेको छ। नेपालका सूचीकृत कम्पनीहरुको चुक्ता पूँजीको आकार ज्यादै न्यून अवस्थामा रहेका कारण राष्ट्र बैंकले चार गुणाले पूँजीको आकार बढाएको छ।

नगद लभांश वितरण गर्दा प्रतिकित्ता शेयरको १०० रुपैयाँ अंकित मूल्यका आधारमा कति रुपैयाँ लाभांश वितरण गर्ने भन्ने विषयका आधारमा कम्पनीहरुले निष्कर्ष निकाल्छन् । प्रतिशेयर आम्दानीको नजिकसम्म पुगेर कम्पनीहरुले नगद लाभांस वितरण गरेका उदाहरण छन् । नगद लाभांशको शेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नहुने भएकाले जति लाभांश घोषणा हुन्छ त्यति मात्र लगानीकर्ताको हातमा आउँछ ।

प्रतिशेयर आम्दानीभन्दा बढी लाभांश विशेष अवस्थामा जगेडा कोषको आकार हेरेर मात्र वितरण गरिने भएकाले कहिले काँही लगानीकर्तालाई बढी लाभ हुन सक्छ । तर जगेडा पूँजीकरण गर्न वितरण गरिने बोनस पनि प्रतिशेयर आम्दानीको हाराहारीसम्म प्रतिशतमा वितरण गरिने गरिएको छ । यसरी बोनस वितरण गर्दा कम्पनीले अंकित मूल्यका आधारमा वितरण गरे पनि लगानीकर्ताले दोस्रो बजारको मूल्यमा त्यस्तो शेयर बिक्री गर्न पाउँछन् ।

उदाहरणका लागि कुनै एक वाणिज्य बैंकले वितरण गरेको १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश कुन फाइदाजनक भन्ने हेरौं ।
तपाईसँग सो बैंकको १०० कित्ता शेयर छ भने १५ प्रतिशतका दरले बोनस पाउँदा थप १५ कित्ता बोनस तपाईको भागमा पर्छ । दोस्रो बजारमा मानौ सो बैंकको ६६० रुपैयाँ हाराहारीमा समायोजन भएको शेयर बजार घटेको अवस्थामा पनि ६०० रुपैंयाका दरले १५ कित्ता शेयर बिक्री गर्दा लगानीकर्ताले ९ हजार रुपैयाँ फाइदा लिन सक्छन् ।

२५ प्रतिशत नगद लाभांश भन्नाले तपाईसँग भएको एक कित्ता शेयर बराबर २५ रुपैंयाका दरले नगद लाभांश पाउने भन्ने हो । यस आधारमा तपाईको १०० कित्ता शेयरले २ हजार ५०० रुपैयाँ मात्र प्रतिफल दिन्छ ।

यस आधारमा नगद लाभांशभन्दा बोनस शेयरबाट बढी फाइदा हुने भएका कारण बोनस शेरको पछि लाग्ने लगानीकर्ताको संख्या बढी छ । तर बजारको उतार-चढाव अनि बोनस शेयर वापत हुने शेयर मूल्य समायोजन लगायत कारणले कतिपय अवस्थामा बोनसबाट पनि फाइदा हुन्छ नै भन्न सक्ने अवस्था रहन्न ।

बोनस बाँड्दा शेयरसंख्या बढ्ने र साविक शेयरधनीको कम्पनीमा हिस्सा घट्न सक्छ। बोनस शेयर धेरै बाँड्दा आपूर्ति बढी भई माग घट्दा कम्पनीको मूल्य निरन्तर घट्नसक्छ। नगद लाभांश बाँड्ने कम्पनीमा सीमित संख्या शेयर संख्या रहँदा सो कम्पनीको शेयर किन्ने चाहना धेरैमा हुँदा कम्पनीको शेयरममूल्य बढ्दै जान्छ।

प्राथमिक शेयरको हकमा भने प्रत्येक पटक वितरण हुने नगद लाभांश तथा बोनस शेयर धेरै फाइदाजनक हुने गरेको छ ।