एभरेष्ट बैंक (EBL@) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा १४ करोड रुपैयाँले खुद नाफा वृद्धि गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९४ करोड ३६ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६० करोड र नियामकीय जगेडा अन्तर्गत ८० करोड लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।
चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३७.०३ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा १ अर्ब ८५ करोड र २३ करोड रुपैयाँ शेयर प्रिमियम रहेको छ।
चैत मसान्तसम्म बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपछि सञ्चालन नाफा पनि बढेको छ। बैंकले गत आवको चैत मसान्तको तुलनामा २४ करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा पनि २० करोड रुपैयाँ बढेर ३ अर्ब ३६ करोड पुगेको छ।
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ, र पूँजीकोष अनुपात १२.६२ प्रतिशत रहेको छ।
प्रतिक्रिया