एनसीसी बैंकको खुद नाफा १ अर्बमाथि, यस्ता छन् अन्य सूचक

0
Shares

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा १८ लाख रुपैयाँले खुद नाफा वृद्धि गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३० करोड ५३ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा २४ करोड ३१ लाख र नियामकीय जगेडा अन्तर्गत ६१ करोड ७४ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।

चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.६२ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ३ अर्ब १२ करोड ४० लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ५६ करोड ९० लाख रहेको छ।

चैत मसान्तसम्म बैंकले ६६ अर्ब ६ करोड ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४९ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, र ब्यापारिक आय बढेपछि सञ्चालन नाफा पनि बढेको छ।

बैंकले गत आवको चैत मसान्तको तुलनामा साढे २७ करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा पनि करोड रुपैयाँ बढेर १ अर्ब ६४ करोड ४४ लाख पुगेको छ।

खुद ब्याज आम्दानीमा भएको वृद्धिमा खर्च नियन्त्रित बन्दा बैंकको खुद नाफा पनि सामान्य बढेको हो।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशतमा सुधारिएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३९.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.७१ गुणा, निक्षेप संकलन लागत ७.२५ प्रतिशत, आधारदर १०.३६ प्रतिशत, स्प्रेडदर ५.०६ प्रतिशत र पूँजीकोष अनुपात १२.७६ प्रतिशत रहेको छ।