कुमारी बैंक पनि अर्बपति क्लबमा, वितरणयोग्य नाफामा भने भारी गिरावट

0
Shares

कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा ९४ लाख २४ हजार रुपैयाँ रुपैयाँले खुद नाफा वृद्धि गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ४ करोड ५० लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा २० करोड ५ लाख र नियामकीय जगेडा अन्तर्गत ७६ करोड ४६ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।

चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १४.१३ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ३ अर्ब ५ करोड रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ६ करोड ९२ लाख ९२ हजार रुपैयाँ रहेको छ।

चैत मसान्तसम्म बैंकले ८५ अर्ब ५० करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपछि सञ्चालन नाफा पनि बढेको छ। बैंकले गत आवको चैत मसान्तको तुलनामा ५१ करोड ९६ लाखले खुद ब्याज आम्दानी वृद्धि गर्दै २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा पनि ६ करोड २ लाख रुपैयाँ बढेर १ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ०.९८ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.५२ गुणा , निक्षेप संकलन लागत ७.५६ प्रतिशत, आधारदर १०.६५ प्रतिशत, स्प्रेडदर ४.६५ प्रतिशत र पूँजीकोष अनुपात ११.०६ प्रतिशत रहेको छ।