लुम्बिनी विकास बैंकको खराब कर्जामा सुधारसँगै नाफामा १६.५६% बढोत्तरी

0
Shares

लुम्बिनी विकास बैंक (LBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा गत आवको यसै अवधिको तुलनामा १६.५६ प्रतिशतले बढाएको छ।

गत आर्थिक वर्षको चैतसम्ममा ३७ करोड ५४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ४३ करोड ७६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँ छ।

गत आर्थिक वर्षको तुलनामा बैंकको कर्मचारी, सञ्चालन खर्च बढेको छ । यद्यपी बैंकले लकडाउनकाबीच पनि आफ्नो खराब कर्जा अनुपात घटाएपनि नोक्सानी व्यवस्थामा रकम घटेको छ भने ब्याज आम्दानीमा भएको बढोत्तरीले सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो। बैंकको खराब कर्जा अनुपात २.१३ प्रतिशतबाट घटेर १.६० प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकमा २४ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड ३५ लाख रुपैयाँले बढेर ९० करोड १४ लाख रुपैयाँ पुगेको छ।

हाल २ अर्ब ७१ करोड ६३ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। गत आवको सोही अवधीमा बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड १९ लाख रुपैयाँ सञ्चित थियो ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानीमा सामान्य संकुचन आएको छ। गत आर्थिक वर्षको यसै अवधिमा २२.६३ रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१.४८ रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १५७.७२ रुपैयाँ, आधारदर ११.०२ प्रतिशत, कोषको लागत ८.६० प्रतिशत, पूँजीकोष अनुपात १२.९७ प्रतिशत र मूल्य आम्दानी अनुपात ८.२९ गुणा रहेको छ।