नेपालमा १ लाख १० हजार बढीमा कोरोना परीक्षण, एकैदिन ६ हजार बढी

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल १ लाख १० हजार ५६६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट ३५ हजार ४९४ र आरडिटी प्रविधिबाट ७५ हजार ७२ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ६ हजार ९८ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट २ हजार ४८८ र आरडिटीबाट ३ हजार ६१० वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार ६२२, प्रदेश नं २ मा ६ हजार २३४, वाग्मती प्रदेशमा १५ हजार ७३१, गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नं ५ मा ९ हजार ७३९, कर्णाली प्रदेशमा ७ हजार ६३४ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ९४ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • २३ हजार २०२ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा ३८० जना, रेडजोनमा ४२७ जना

मुलुकभर हालसम्म २३ हजार २०२ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ३०४ जना, प्रदेश नम्बर दुईमा ४ हजार १४४ जना, वाग्मती प्रदेशमा ३५३ जना, गण्डकी प्रदेशमा ४६६ जना, प्रदेश नम्बर पाँचमा १४ हजार २६२ जना, कर्णालीमा ७६४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९०९ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ३८० रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा ३३, प्रदेश नं २ मा १३१, वाग्मती प्रदेशमा १९ (मृत्यु सहित), गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा १९४ जना (१ मृत्यु सहित), र कर्णाली प्रदेशमा १ जना गरि कूल ३८० जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा २ हजार १४९ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४५ हजार ४५० जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ३६३ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप १५ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनम पर्नेहरुको संख्या ४२७ पुगेको छ।

रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।