अण्डरराइटिङ्ग मार्फत कोरोना बीमालेखमा कडाई, विदेशबाट फर्केको एक महिना नभई ग्राह्य नहुने

0
Shares

बीमा समितिले कोरोना बीमाको बीमालेखको मूल मर्मलाई कायमै गर्दै विदेशबाट फर्केका नागरिकका लागि अण्डरराइटिङ्ग मार्फत कोरोना बीमा गर्न थप कडाई गरेको छ।

समितिले पछिल्लो समय झापा, बाँके लगायत जिल्लामा छिमेकी राष्ट्र भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि हुने क्रम बढेसँगै विशेष खालको अण्डरराइटिङ्ग निर्देशनको आवश्यकता महसुस गरि समितिले उक्त अण्डरराटिङ्ग निर्देशन जारी गरेको हो। जसमा निजीबन बीमा कम्पिनीलाई पाँच बुँदाका विषयलाई समावेश गर्न निर्देशन दिइएको छ।

निर्देशन अनुसार कुनैपनि व्यक्ति भारत लगायत अन्य मुलुकबाट नेपाल आई १५ दिन क्वारेन्टाइनमा बसे पश्चात आफ्नो परिवारमा थप १५ दिन बसेपश्चात मात्र बीमालेख ग्राह्य हुने व्यवस्था गरेको छ। बीमितले आफ्नो स्थानीय तहबाट यस्तो प्रमाणित गराउनुपर्ने हुन्छ।

यसैगरि विदेशबाट फर्केका नागरिक र उसका परिवारले अनिवार्य रुपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुबाट र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण गराई नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ।

यस्तै समितिले सबै निर्जीबन बीमा कम्पनीहरुलाई अण्डरराटिङ्ग कार्यका लागि संलग्न पूरक फारम वेवसाइटमा राखि उक्त फारम स्वीकृत भएपश्चात मात्र बीमालेख जारी हुनेगरि आफ्नो विद्युतीय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप गर्न समेत निर्देशन दिएको छ।

बैशाख ७ देखि जेठ ८ गतेसम्म १२ हजार ५७८ वटा बीमालेखबाट ८ करोड ६१ लाख ४४ हजार बीमाशुल्क संकलन भएको छ। यस अवधिमा १ लाख ५९ हजार ९३६ जना कोरोना बीमाको दायरामा आइसकेको जनाइएको छ।