अमेरिकाद्वारा कोरोना नियन्त्रणका लागि थप ५५ लाख डलर सहयोग

0
Shares

अमेरिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख डलर (करिब ६३ करोड रुपैयाँ) सहयोग गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर सहयोग आएको हो।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन्।

यसअघि अमेरिकाले १८ लाख डलर सहयोग गरेको थियो । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ । 

युएसएआईडीले स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ ।

अमेरिकाले नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको छ र यसमार्फत नेपालका कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।