एनआईसी एशिया बैंकका ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा विशेष छुट

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा विशेष छुट दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको २ प्रतिशत ब्याज छुटको अलावा बैंकले साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरमा कम गरी ९.९९ प्रतिशत कायम गर्ने जनाएको छ ।

कोरोना महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै बैंकले आषाढ महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्कमा छुट योजना ल्याएको जनाएको छ।

साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए।

हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकहरुको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहने बैंकले जनाएको छ । त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ।

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।