शेयर कारोबार खुलाउन धितोपत्र बोर्डमै पुग्यो अर्थ समिति, तुरुन्तै खोल्न निर्देशन

0
Shares

संसदको अर्थ समितिले धितोपत्र बोर्डमै पुगेर शेयर बजार संचालन गराउन निर्देशन दिएको छ ।

सोमबार अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल लगायत पूँजी बजार अध्ययन उपसमितिका पदाधिकारी बोर्डमा पुगेर धितोपत्र बजारका समसामयिक विषयहरुमा छलफल गर्दै बजार संचालन गर्न निर्देशन दिएका हुन् ।

अर्थ समितिका सभापति दाहालले नेपालको वित्तीय प्रणालीमा पूँजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्न सुझाब दिए। उनले धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएता पनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको बताए।

आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पूँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि मार्ग निर्देशन समेत गरे ।

साथै बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिए । उनले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए।

सो कार्यक्रमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दै केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए । उनले पूँजीबजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताए।

उनले पूँजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताए।

ढुंगानाले विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने बताए।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पूँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि ई-डिआइसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभकर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको जानकारी गराए ।

छलफलका क्रममा सासंद मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखेका थिए।

यस्तै पूँजी बजार अध्ययन उपसमितिकी संयोजक राम कुमारी झाँक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसंग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नुपर्ने, नेपालको पूँजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने, बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र सशक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने बताइन् ।

सो अवसरमा बोर्डका उप कार्यकारी निर्देशक डा. नबराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा जानकारी गराएका थिए।