लगानीकर्ता संयमित बन्दा शेयर बजारको उच्च गिरावट थामियो

0
Shares

लकडाउनपछि बन्द रहेको नेप्से ९७ दिनपश्चात नियमित सञ्चालनमा आएको शेयर बजार परिसूचक ५२ अंकसम्म घटेर १ हजार १४९ अंकसम्म झरेपनि लगानीकर्ताहरुले संयमिमता अपनाउँदा पुन ४० अंकको बाउन्स ब्याक भएर बन्द भएको छ।

सुरुवाती ४० मिनेटमा तीव्र गतिमा ओरालो लागेपछि ४ प्रतिशत घटेर नकारात्मक सर्किट लागेर बन्द भएको बजार २० मिनेटपछि खुलेपछि भने लगानीकर्तामा संयमितता आएपछि बजार थामिएको हो।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले लामो समय पश्चात खुलेको शेयर बजारमा सुरुवाति चरणमा लगानीकर्तामा बजार खत्तमै हुन्छ कि भन्ने मनोविज्ञानका कारण नकारात्मक सर्किट लागेपनि दोस्रो चरणमा खुल्दा बजारमा खरीदकर्ताको उल्लेख्य उपस्थिति देखिएपछि लगानीकर्ता कारोबारमा संयमित बन्दा बजार थामिएको बताए।

उनले भने:- कोरोना महामारी बाहेक अहिले सबै पक्ष सकारात्मक देखिन्छ। बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलता छ। संस्थागत लगानीकर्ताको रुपमा नागरिक लगानी कोषको स्टक डिलरले काम अगाडि बढाउने तयारीमा रहेको छ। यस्तै लकडाउन अघि नै नेपालको शेयर बजारमा जुन हिसाबले घट्यो त्यसले पनि अब धेरै घट्दैन भन्ने आत्मविश्वास बढ्दा बजारमा सकारात्मक प्रभाव परेको हो।

फुल्लेलले पूँजी बजारका नियामक निकायहरुले पछिल्लो समय शेयर बजार सुधारको काम अगाडि बढाएकोले बजारका लुपहोल बन्द हुन्छन र पूँजीबजारको भविष्य राम्रो छ भन्ने आत्मविश्वास लगानीकर्तामा बढेको बताए। 

राष्ट्र बैंकले अनलाईन मार्फत पठाउन सकिने फण्ड ट्रान्सफरको सीमा अहिले बढाएको, तथा कनेक्ट आइपीएस मार्फत पनि रकम पठाएर घरमै बसेर अनलाईन मार्फत शेयर कारोबार गर्न सकिने व्यवस्थाले पनि कारोबारका लागि सहजता आएको उनको भनाई छ।

कोरोना महामारिसँगै विश्व शेयर बजार समेत घटेर सुधारको क्रम आउन थालेको अवस्था तथा नेपालमा समेत पछिल्लो समय १ हजार ६३२ पुगेर गिरावट आइसकेको अवस्थामा बजारमा सुधार आउने आशा लगानीकर्ताहरुमा रहेको छ।

असार १५ गते सोमबार १२.८७ अंकले घटेर १ हजार १८८ दशमलव ७० बिन्दुमा अडिएको छ। यसदिन १३० कम्पनीका ९ लाख ७० हजार ७६ कित्ता शेयर ४ हजार ८६२ पटक खरीद बिक्री हुँदा ३४ करोड ७७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएका बाह्र उपसमूहका सूचकमध्ये ब्यापार, उत्पादन, अन्य, जीबन बीमाको सूचक सकारात्मक बनेका छन् भने बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, निर्जीबन बीमा, लघुवित्त र म्युचुअल फण्डको सूचक ऋणात्मक बनेका छन्।

यसदिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ३ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भयो। नेपाल लाईफ, एनआईसी एशिया, र नबिल बैंकको पनि २ करोड बढीको शेयर कारोबार भएको छ। एनएमबि बैंक, नेपाल बैंक, शिवम् सिमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, र छिमेक लघुवित्तको पनि १ करोड बढीको कारोबार हुँदै शिर्ष १० कारोबार हुने कम्पनीको सूचीमा समेटिएका छन्।

नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, शिवम् सिमेन्टको शेयर पनि ९ प्रतिशतले बढेको छ। गुडविल फाइनान्स, साल्ट ट्रेडिङ्ग, नेपाल लाईफ, अरुण काबेली र हिमाल दोलखा हाइड्रोपावरको पनि ४ प्रतिशत बढीले मूल्य बढेको छ।

उता स्वाबलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त र इन्फिनिटी लघुवित्त गरि ४ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। सान्जेन जलविद्युत, अवि पावर, कामना सेवा विकास बैंक, सबैको लघुवित्त, पाँचथर पावर, र रसुवागढी जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले घटेको छ।