ब्रोकरको कार्यक्षेत्र विस्तार गर्न सुझाव, रिटेल मार्केट डिलर र लगानी परामर्शदाताको काम गर्न पाउने

0
Shares

व्यवस्थापिका संसदको अर्थ समितिले गठन गरेको मुद्रा तथा पूँजी बजार सम्बन्धी अध्ययन उपसमितिले धितोपत्र ब्रोकरलाई रिटेल मार्केट डिलर र लगानी परामर्श सेवा सञ्चालन गर्न दिन सुझाव दिएको छ ।

करिब एक वर्ष लगाएर मुद्रा तथा पूँजी बजारको सन्दर्भमा अध्ययन गरेर मंगलबार अर्थ समितिलाई बुझाएको प्रतिवेदन उप–समितिले धितोपत्र दलाल कम्पनीको चुक्ता पूँजी १० करोड पु¥याउने व्यवस्था गर्न सुझाएको हो।

हालका धितोपत्र दलाल कम्पनीलाई वित्तीय तथा पुर्वाधारको हिसाबले सक्षम बनाएर स्टक डिलर, रिटेल मार्केट डिलर तथा परामर्श सेवाको समेत काम गर्न दिन प्रतिवेदनले सुझाव दिएको छ।

उपसमिति संयोजक रामकुमारी झाँक्रीले धितोपत्र दलाल कर्जालाई सुहलियतको व्यवस्था गरेर मर्जर जान प्रेरित गरेको बताइन् । धितोपत्र दलाल कम्पनीलाई व्यवसायी बनाई सबै क्षेत्रबाट सबल बनाई कार्यक्षेत्रमा समेत विविधता गराउनुपर्ने सुझाव समेत उनको छ ।

धितोपत्र दलाल ब्यवसायीहरुलाई स्टक डिलरसीप दिँदा आफ्नो प्रयोजनको लागि खरीद गरेको र ग्राहकका लागि गरिने धितोपत्रको कारोबारमा अनुचित प्रभाव देखिन सक्ने, स्वार्थको द्धन्द हुने, भित्रि सुचनाको आधारमा कारोबार हुनसक्ने लगायतका अवाञ्छित गतिविधिलाइ पूर्ण रुपमा नियन्त्रण गर्ने निश्चित भएपनि यस्तो काम गर्न दिने व्यवस्था गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी धितोपत्र दलाल कम्पनीको पूँजीको सीमा, शर्त र मापदण्ड तोकी रिटेल मार्केट डिलरको काम गर्ने अनुमति समेत दिनुपर्ने उप समितिले सुझाव दिएको छ। अध्ययन अनुसार तोकिएको शर्त पूरा गरेका धितोपत्र दलाल कम्पनीलाई शेयर खरीद बिक्री परामर्शको काम गर्न समेत दिँदा उपयुक्त हुने उपसमितिको निष्कर्ष छ।