चोरीको मोबाइल बेच्नेबाट ४३ करोड राजश्व छलि, आधा दर्जन फर्मविरुद्ध ७७ करोडको मुद्दा

0
Shares

राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी र झुट्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा ५ वटा व्यावसायिक फर्म र दुई व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले बुधबार ति फर्म तथा व्यक्तिहरु उपर ७७ करोड ४ लाख १३ हजार २२० रुपैयाँ विगो कायम गरी विगो असुल उपर एवं कैद सजाय समेतको माग दावी लिई मुद्दा दायर गरेको हो।

विभागले विदेशबाट मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसूरमा काठमाडौं महानगरपालिका–१५ स्थायी ठेगाना भई हाल टोखा नपा ग्राण्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकार समेत २ जना उपर ४३ करोड १८ लाख ९५ हजार चार सय ४१ रुपैयाँ बिगो कायम गरी बिगो असुल उपर गरी गराई जरिवाना र कैद सजायको मागदावी लिई उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको छ।

यस्तै विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छलि गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राईजेजलाई एक करोड ७० लाख १९ हजार ८५५ रुपैयाँ, समर ट्रेडर्सलाई ४ करोड ५८ लाख २ हजार २३९ रुपैया विगो असुल उपर गरी जरिवाना एवं कैद सजायको माग दावी लिई उच्च सरकारी वकिलको कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेको छ।

यस्तै, झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने काठमाडौं महानगरपालिका–४ ठेगाना भएको जिमी ग्रुप प्रालि विरुद्ध १८ करोड ३३ लाख, न्यू क्रियसन इम्पेक्स प्रालि तथा बंगलामुखी ट्रेड एण्ड सप्लाई, बिएस ट्रेड इन्टरनेशनलले राजस्व चुहावट गरेको ९ करोड २३ लाख विगो असुल उपर गरी जरिवाना एवं कैद सजाय समेत हुन मागदावी लिई सोही अदालतमा मुद्दा दर्ता गरेको छ।