शेयर बजार पूँजीकरण साढे १७ खर्ब नजिक

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से ७५ अंकले बढेसँगै सातामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण करिब १ खर्ब रुपैयाँले बढेर साढे १७ खर्ब नजिक पुगेको छ।

गत साता १६ खर्ब ४७ अर्ब ५६ करोड बजार पूँजीकरण रहेकोमा एक सातामा ९८ अर्ब ७९ करोड रुपैयाँले वृद्धि भएर साताको कूल बजार पूँजीकरण १७ खर्ब ४६ अर्ब ३५ करोड रुपैयाँ पुगेको हो।

शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये बजार पूँजीकरणका हिसाबले नेपाल टेलिकमको सबैभन्दा धेरै रहेको छ। टेलिकमको कूल बजार पूँजीकरण ९५ अर्बको १० करोड रहेको छ।

यसैगरि नबिल बैंकको ७४ अर्ब ८३ करोड रुपैयाँ, नेपाल लाईफको ६७ अर्ब ४९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ अर्ब ५७ करोड एभरेष्ट बैंकको ५५ अर्ब ३९ करोड, एनएमबि बैंकको ५३ अर्ब ७१ करोड, नेपाल रि-इन्स्योरेन्सको ५० अर्ब ४० करोड बजार पूँजीकरण कायम भएको छ। सातामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४९ अर्ब ३ करोड, एनआईसी एशिया बैंकको ४८ अर्ब ७८ करोड, र हिमालयन बैंकको ४८ अर्ब ३६ करोड बजार पूँजीकरण कायम भएको छ।

शीर्ष दश बजार पूँजीकरण भएको कम्पनीहरुको हिस्सा कूल बजार पूँजीकरणको ३४.६८ प्रतिशत रहेको छ। साताको कूल बजार पूँजीकरण १७ खर्ब ४६ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ रहेकोमा ठूला बजार पूँजीकरण भएका दश कम्पनीको मात्रै ६ खर्ब ५ अर्ब ६७ करोड ९० लाख रुपैयाँ रहेको छ।

सातामा नेप्से परिसूचक ७४.९९ अंकले बढेको छ। साताको पहिलो दिन १२५६.११ बिन्दुमा खुलेको नेप्से अन्तिम दिन बिहीबार १३३१.१० अंकमा बन्द भएको हो।

यस साता ५ अर्ब १६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस साता नेपाल रि-इन्स्योरेन्सको सबैभन्दा धेरै ७९ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ। नेपाल लाइफको ४३ करोड २९ लाख ९६ हजार, एनएमबि बैंक १९ करोड २ लाख, हिमालयन डिष्टिलरीको १८ करोड ७० लाख, छिमेक लघुवित्त १६ करोड ७४ लाख बजार पूँजीकरण पुगेको छ।

यस्तै नबिल बैंक १४ करोड २१ लाख, शिवम् सिमेन्टको १२ करोड ८८ लाख, एनआईसी एशिया बैंक १३ करोड ८७ लाख, प्रभु बैंकको ११ करोड १६ लाख र साना किसान लघुवित्तको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भयो।

नेप्सेमा सूचीकृत २११ कम्पनीमध्ये यस साता १९७ कम्पनीको शेयर कारोबार भएको छ।