अजोड इन्स्योरेन्सको आईपीओमा ४ लाखले गरे आवेदन, ५.३८ गुणा बढी माग

0
Shares

अजोड इन्स्योरेन्स (AJOD) ले बिहीबारदेखि निष्काशन गरेको आईपीओमा आइतबारसम्म आवेदन गर्ने लगानीकर्ताको संख्या ४ लाख नाघेको छ।

इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म ४ लाख १ हजार ५०२ आवेदनबाट १ करोड ४७ लाख कित्ता माग भएको छ।

यो संख्या इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशनमा ल्याएको २७ लाख ३० हजार कित्ताको तुलनामा ५.३८ गुणा बढी हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार इन्स्योरेन्सको आईपीओ गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले १० कित्ताका दरले आईपीओ शेयर पाउनेछन्।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी शेयरका सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो।

न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने आईपीओमा असार २९ गते सोमबारसम्म आवेदन दिन सकिन्छ। आईपीओमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरोशेयरबाट आवेदन दिन सकिनेछ । 

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।

कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभुतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन्।

हाल संस्थापकतर्फको ७० प्रतिशत पूँजी चुक्ता भैसकेको कम्पनीको ३० प्रतिशत शेयर आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ।