चालु आर्थिक वर्षको अन्तिम दिनको शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार दोहोरो अंकले नेप्से बढ्दा एक अर्ब बढीको शेयर किनबेच भएको छ।
बुधबार नेप्से परिसूचक १४.९० अंकले बढेर एक हजार ३६३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.११ प्रतिशतले बढी हो ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंकको ब्याजदर घट्ने संकेतले बजारमा सकारात्मक प्रभाव देखिएको छ । कोरोना कारण अन्यक्षेत्रको लगानी विस्तार हुन नसक्दा शेयर बजारमा लगानीको क्रम समेत बढ्दा कारोबार रकम समेत सुधारिन थालेको छ । साथै राष्ट्र बैंकले शेयर बजारमैत्री मौद्रिक नीति ल्याउने संकेत गरेकाले पनि लगानीकर्ताको मनोबल बढ्दै गएको देखिन्छ ।
१८९ कम्पनीको कूल ३२ लाख १२ हजार ९ सय २४ कित्ता शेयर किनबेच भएको बजारमा कूल एक अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भयो। यसदिन सबैभन्दा बढी एनआईसी एशिया बैंकको १० करोड ४० लाख रुपैयाँ बराबरको किनबेच भयो।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख र एनएमबी बैंकको ८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यसदिन बजारका ४ उपसमूहका परिसूचक घटेका छन् भने बाँकी उपसमूहका परिसूचक बढेका छन् । बजारमा होटल ४५, जीवन बीमा ४३, उत्पादनमूलक २५ र माइक्रोफाइनान्स समूह ९ अंकल घटेका छन् भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बैंकिङ्ग समूह २४.३८ अंकले उकालो लागेको छ।
बुधबारको बजारमा एनआइसी एशिया लघुवित, नवील ब्यालेन्स फण्ड २ को शेयर मूल्य दश प्रतिशतका दरले बढेको छ । यस्तै बेस्ट फाइनान्सको शेयर मूल्य ९ प्रतिशत बढीले उकालो लाग्यो। यसदिन मिथिला लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घट्यो ।
प्रतिक्रिया