मिनीसो नेपालले भित्र्यायो अमेरिकी ब्राण्ड मार्वल, थप ४ आउटलेट बिस्तार हुने


जापानी फ्रेन्चाइज कम्पनी मिनीसोको आधिकारी विक्रेता मिनीसो नेपालले अमेरिकी ब्राण्ड मार्वल नेपाल भित्र्याएको छ । सोमबार एक कार्यक्रमका बिच मिनीसोले कमलादीस्थित राइजिङ मलमा मार्वल ब्राण्ड भित्र्याएको हो ।

अमेरिकी ब्राण्ड मार्वल र जापानी ब्राण्ड मिनीसो एक भएपछि मिनीसोले मार्वल ब्राण्डका प्रयोगकर्तालाई लक्षित गर्दै मार्वल मिनीसोको आउटलेट संचालनमा ल्याएको हो ।

मिनीसो नेपालका प्रवन्ध निर्देशक आशाराम तण्डुकारका अनुसार मार्वल र मिनीसोले संयुक्त रुपमा आफ्ना उत्पादनहरु विश्व बजारमा पुर्याउने सम्झौता भए अनुसार मार्वल ब्राण्डलाई नेपाली बजारमा ल्याइएको हो ।

राइजिङ मलमा औपचारिक रुपमा सञ्चालनमा ल्याइएको स्टोरमा विभिन्न किसिमका दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने तण्डुकारले बताए ।

मिनीसो नेपालले राइजिङ मलसँगै सिभील मल सुन्धारा, नयाँ बानेश्वर तथा महाराजगञ्ज लगायत ठउाँमा मार्वल मिनीसोको आधिकारिक स्टोरहरु बिस्तार गर्दै जाने योजना मिनीसो नेपालले बनाएको छ ।

‘विश्व बजारमा मिनीसो तथा मार्वलका उत्पादनको अधिक माग रहेको अवस्थामा नेपाली बजारमा पनि माग बढ्दो अवस्थामा छ । यो स्टोरको सफलताले हामीलाई निकट भविष्यमा नै कम्तीमा राजधानीका ४ स्थानमा आउटलेट बिस्तार गर्ने योजना बनाउने छौं ।’ तण्डुकारले भने ।

आउटलेटमा मार्वलसँग सम्बन्धित स्पाइडरम्यान, क्याप्टेन अमेरिका, आइरोन म्यान, क्याप्टेन मार्वल, थोर, ब्ल्याक विडो लगायतको डिजाइनमा आधारित सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

मिनीसो नेपालमा दुई सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बताएका तण्डुकारले अनौपचारिक रुपमा अरु धेरै जनशक्तिले राजगारी पाएको बताए ।

तण्डुकारका अनुसार विश्वभर मिनीसोका ६ हजारभन्दा बढी आउटलेटहरु सञ्चालनमा छन् भने २०२० भित्र यो संख्या १० हजार बढी पुग्नेछ ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।