अर्थमन्त्री डा युवराज खतिवडाले पहिलो चौमासिकमा भएको खर्चलाई लिएर असन्तोष व्यक्त गर्नुपर्ने अवस्था नभएको बताएका छन् ।
अर्थ समितिले आयोजना गरेको छलफलमा उनले विद्यमान लेखा प्रणालीको कारण कम खर्च देखिएको उल्लेख गर्दै नयाँ विधिबाट लेखाङ्कन गरेपछि सुधार आउने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारले गत आवमा प्राप्त भएको बजेट नै खर्च गरेको र उक्त खर्च प्रणालीमा नआएकाले कम देखिएको उल्लेख गरे । उनले ठेक्का प्रणालीमा गरिएको सुधारले पनि ठेक्का लिँदा वा दिँदा जोखिम ठानेकाले पनि केही कमी भएको हुनसक्ने उल्लेख गरे ।
समितिका सदस्यले विगतमा कानून नभएको, कर्मचारी नभएको भनेर पन्छने अवस्था भए पनि चालू आवमा लक्षित खर्च हुन नसक्नुका कारण खोज्नुपर्नेमा जोड दिएका थिए । व्यक्तिमा समस्या हो, कि प्रवृत्तिमा हो भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको भन्दै समिति सदस्य रामकुमारी झाँक्रीले सधैँ परम्परागत प्रवृत्तिले विकास निर्माणको काम अगाडि बढ्न नसक्ने बताइन । उनले आर्थिक वर्षको अन्त्यतिर दैनिक अर्बौं बजेट खर्च भन्ने समाचार सुन्नुपर्ने अवस्था आउने भन्दै समय छँदै काम गर्न सम्बन्ध मन्त्रालयका अधिकारीलाई आग्रह गरीन् ।
समितिका सभापति कृष्णप्रसाद दाहालले विगतमा समितिले दिएको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न र खर्च गर्ने प्रणालीमा सुधार जरुरी रहेको बताए ।
प्रतिक्रिया