पन्ध्र म्युचुअल फण्डको यस्तो छ चैतमा लगानी अवस्थाको तुलनात्मक अध्ययन

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१५बैशाख, २०७७, सोमबार / Apr 27, 2020 15:03:pm

बैशाख १५ गतेसम्म सञ्चालनमा रहेका १७ वटा म्युचुअल फण्डमध्ये १५ वटाले चैत महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा सिटिजन्स म्युचुअल फण्डको दुबै योजनाको वित्तीय विरण सार्वजनिक हुन बाँकी छ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको कारण चैतमा ६ कारोर दिनमा भएका शेयर बजारको उतारचढाव र फण्डको मासिक खर्चका आधारमा वित्तीय विवरण प्रभावित छ। हेरौं कुन फण्डको कस्तो छ वित्तीय अवस्था:-

  • नौं फण्डको लगानी फागुनको तुलनामा चैतमा घट्यो

चैत महिनाको वित्तीय विवरण सार्वजनिक गरेका १५ मध्ये ९ वटा फण्डको लगानी फागुनको तुलनामा चैतमा घटेको छ भने ६ वटाको बढेको छ। धेरै फण्डको लगानी घट्दा केहीको भने बढेको हो। यसमा सूचीकृत कम्पनीमा गरिएको लगानी तथा सूचीकृत नभएका शेयरहरु बोनस, हकप्रद र डिबेञ्चरको लगानी,समेत समावेश रहेको छ। 

चैतको विवरण अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम फण्ड २ को लगानी ५ करोड रुपैयाँले बढेर ९० करोड ७ लाख पुगको हो। उता सानिमा इक्वीटी फण्डको लगानी भने फागुनको तुलनामा ९ करोड ७१ लाख रुपैयाँले घटेर ११३ करोड ८९ लाख रुपैयाँमा झरेको छ।

  • खुद सम्पत्ति मूल्य

चैत महिनामा सबै फण्डको खुद सम्पत्ति मूल्य घटेको छ। सूचीकृत कम्पनीको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा घट्दा त्यसको प्रभाव फण्डको खुद सम्पत्तिमा देखिएको हो।

चैतमा सानिमा इक्वीटी फण्डको लसम्पत्ति सबैभन्दा धेरै ९ करोड ८६ लाख रुपैयाँले घट्दा पछिल्लो समय सञ्चालनमा आएको एनआईबिएल सहभागिता फण्डको १ करोड ८ लाख रुपैयाँले मात्र सम्पत्ति घटेको हो।

  • प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभि)

फण्डको खुद सम्पत्तिमा आएको गिरावटसँगै चैत महिनामा सबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभि) घटेको छ। यी फण्डको एनएभि १७ पैसादेखि अधिकतम ९२ पैसासम्म घटेको छ।

फागुन मसान्तमा ९.९६ रुपैयाँ रहेको ग्लोबल आईएमई समुन्नत योजना १ को एनएभि सबैभन्दा धेरै घटेर ९.०४ मा झरेको हो भने एनएमबि ५० को १०.६२ बाट चैतमा १०.४५ मा संकुचित बनेको हो।

चैतमा १५ मध्ये ११ फण्डको एनएभि अंकित मूल्य (अर्थात १० रुपैयाँ) भन्दा धेरै छ भने ४ फण्डको अंकित मूल्यभन्दा कम रहेको छ।

  • चैत महिनामा कुन फण्ड नाफामा कुन नोक्सानीमा ?

चैत महिनामा वित्तीय विवरण सार्वजनिक गरेका सबै फण्डको नाफा घटेको छ। यद्यपी १५ मध्ये १३ वटा फण्ड नाफामा रहेका छन् भने २ वटा फण्ड घाटामा रहेका छन्।

यस अवधिमा ग्लोबल आईएमई समुन्नत योजना १ र लक्ष्मी इक्वीटी फण्ड घाटामा गएका हुन्। यी दुबै फण्ड फागुनमा समेत घाटामा रहेकोमा चैतमा थप नोक्सानी बढेको छ।

अन्य नाफामा रहेका १३ फण्डमध्ये चैतमा नबिल इक्वीटी फण्ड ११ करोड ३० लाख नाफामा रहेको छ। यस फण्डको पनि नाफा फागुनको तुलनामा ६ करोड ११ लाखले घटेको हो।

फागुनको तुलनामा चैतमा सानिमा इक्वीटी फण्डको सबैभन्दा धेरै ९ करोड ८५ लाख रुपैयाँले नाफा घटेको छ। फण्डको नाफा १५ करोड २ लाखबाट ५ करोड १७ लाखमा घटेको हो। यस्तै एनआईबिएल सहभागिता फण्डको सबैभन्दा कम १ करोड २ लाख रुपैयाँले घटेको छ। फागुनमा १ करोड ३२ लाख नाफामा रहेको यस फण्ड चैतमा ३० लाख ३४ हजार रुपैयाँले मात्र नाफामा छ।


Share on:


Comments