एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानी गर्नुपुर्व जान्नुहोस् कम्पनीको विस्तृत विवरण

0
Shares

एनआईसी एशिया लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्दैछ।

निष्काशनमा आउने ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ४४ लाख ४३ हजार २०० कित्ता शेयरलाई निष्काशन हुनेछ । ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।

कम्पनीको आइपीओमा लगानी गर्नुपुर्व कम्पनीको वित्तीय अवस्थाको जानकारी लिनुहोस्।

लघुवित्तको कम्पनीको जानकारी:

लघुवित्त कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७४ असार १० गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७४मंसिर ५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको हैसियतले मिति २०७४पुस ५ गतेदेखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ।

यस वित्तीय संस्थाको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय भेरी–४ खलंगा, जाजरकोटमा रहेको छ। राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्त वित्तीय संस्थाले बाँके, बारा, बर्दिया, चितवन, दैलेख, दाङ्ग, जाजारकोट, जुम्ला, कैलाली, कञ्चनपुर, कपिलवस्तु, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, नुवाकोट, रुकुम पश्चिम, रुपन्देही, सल्यान, सिन्धुपाल्चोक, सुर्खेत गरी २० जिल्लामा आफ्नो ७० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

  • आइपीओलाई औसत भन्दा कमजोर रेटिङ्ग:

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन पुर्व रेटिङ्ग गर्नुपर्ने व्यवस्था गरेकाले क्रेडिट रेटिङ्ग संस्था केयर नेपाल लिमिटेड, कमलादी, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराएको छ।

जसअनुसार कम्पनीको आइपीओले “केयर एनपि आईपिओ ग्रेड ४ प्लस” प्रमाणपत्र प्राप्त गरेको छ। केयर एनपि आईपिओ ग्रेड ४ प्लसले औसत भन्दा कमजोर आधारहरु जनाउँछ।

केयर नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड १ ले बलियो आधारहरुलाई जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितीलाई जनाउँछ।

विवरणपत्र अनुसार सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग कम्पनी मार्फत रेटिङ्ग गराउनुपर्ने व्यवस्था रहेको छ।

  • यस्तो छ कम्पनीको वित्तीय अवस्था:

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। जसमध्ये ६७.८७ प्रतिशत बराबरको १ अर्ब ४५ लाख रुपैयाँ संस्थापक समूहतर्फको पूँजी चुक्ता भैसकेको छ। बाँकी ३२.१३ प्रतिशत बराबरको ४७ करोड ५५ लाख रुपैयाँ आईपीओ बिक्रीबाट जुटाउन लागेको हो।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १६.२९ रुपैयाँ कायम गरेको छ। यस अवधिमा कम्पनीको जगेडा कोषको आकार २२ करोड ७५ लाख ९ लाख रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १२२.६४ रुपैयाँ छ। यस्तै खराब कर्जा अनुपात ०.३२ प्रतिशत, लगानीमा प्रतिफल १८.०३ प्रतिशत रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्ममा कम्पनीले १ अर्ब २२ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ८२.९९ रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको छ। यस अवधिमा १ अर्ब २८ करोडको जगेडा कोष बनाउने अनुमान गरेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १८६.५३ रुपैयाँ छ। यस्तै खराब कर्जा अनुपात ०.६९ प्रतिशत, लगानीमा प्रतिफल ६१.२९ प्रतिशत पुर्याउने लक्ष्य छ।

कहाँबाट गर्ने आवेदन ?

आईपीओ लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालहरु (लगानीकर्ताको खाता रहेको बैंकबाटै) आईपीओमा आवेदन गर्न सकिन्छ। यसका अलवा मेरो शेयर मार्फत पनि अनलाईन आवेदन भर्न सकिन्छ।

आईपीओमा छिटोमा असार १४ गते बैंकिङ्ग समय पश्चात बन्द हुनेछ भने सो समयमा निष्काशन हुने सम्पूर्ण कित्ताका लागि आवेदन नपरेको खण्डमा ढिलोमा असार २४ गतेसम्म समय थपिने छ।

कति कित्ताका लागि गर्ने आवेदन ?

एनआईसी एशिया लघुवित्तले निष्काशन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रकै हालसम्मको ठूलो आईपीओ हो। यद्यपी पछिल्लो समय लघुवित्त कम्पनीका साथै राम्रो वित्तीय अवस्था रहेका कम्पनीको शेयरमा अधिक शेयर माग हुने गरेको छ।

धितोपत्र बोर्डले पछिल्लो समय लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार लघुवित्तले सर्वसाधारणमा ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसबाट ४ लाख ४४ हजार ३२० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्न पुग्दछ।

आईपीओ ४ लाख ४४ हजार ३२० भन्दा कम आवेदक भएको खण्डमा सबै आवेदकलाई १० कित्ता शेयर बाँडफाँड गर्न पुग्छ। यदि सो भन्दा धेरै आवेदकबाट आईपीओमा आवेदन गरेको खण्डमा शेयर बाँडफाँड गोलाप्रथामा जानेछ भने थोरै संख्यामा आवेदन परेको खण्डमा केही आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्तासम्म पाउनसक्छन्।

पछिल्लो समय आईपीओ निष्काशन गरेको नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा ३ लाख ९० हजार ६३८ वटा आवेदन सदर भएको थियो। यसअनुसार यो आईपीओमा पनि सोही संख्यामा आवेदन पर्ने आंकलन गर्न सकिन्छ। यद्यपी कोरोना संक्रमणका कारण आवेदन संख्या कम पनि हुनसक्छ भने लघुवित्तमा इन्स्योरेन्सको भन्दा धेरै आकर्षण हुने हिसाबले धेरै आवेदन परेको खण्डमा पनि आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता शेयर पाउने सम्भावना धेरै देखिन्छ।

यसअनुसार लगानीकर्ताले यस आइपीओमा अधिकतम २० कित्ताका लागि २ हजार रुपैयाँ बराबरको आवेदन गर्दा प्रयाप्त हुने देखिन्छ।

संस्थापक र सञ्चालकको बारेमा जानकारी:

लघुवित्त कम्पनीमा हालसम्म शतप्रतिशत संस्थापक शेयर एनआईसी एशिया बैंकको रहेको छ । कम्पनीमा चार्टड अकाउन्टेन्ट कपिल ढकाल अध्यक्ष रहेका छन् भने विशाल सिग्देल, दिनेश भारी, प्रकाश बराल, र राजु प्रसाद अधिकार सञ्चालक रहेका छन्।

लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा १६ वर्षभन्दा बढि विभिन्न पदमा रहि काम गरिसकेका बैंकिङ्ग अनुभव रहेका लक्ष्मी प्रसाद शर्मा रहेका छन्। शर्माले एमए सम्मको अध्ययन गरेका छन्।

यस्तै सुविन काजी श्रेष्ठ सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुद व्यवसाय अधिकृत, रञ्जिता दुलाल नायब प्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृत, विमल नेपाल प्रमुद सूचना प्रविधि तथा वित्त र गोपीचन्द्र ढुङ्गाना सहायक प्रबन्धक रहेका छन्। सबैले स्नातक माथिको उपाधि तथा विभिन्न लघुवित्त संस्था तथा बैंकहरुमा कार्यअनुभव संगालेका व्यक्तिहरु रहेका छन्।