तीन कम्पनीको आईपीओका आवेदक धान्न नसके पछि सिडिएससीको मेरो शेयर बन्द


एकै पटक तीन कम्पनीको साधारण शेयर निष्काशन भए पछि लगानीकर्ताको चाप धान्न नसकेर केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयर सफ्टवेयरले काम गर्न छोडेको छ । साधारण शेयर निष्काशनका दौरान विगतमा पनि यस्तो समस्या देखिँदै आएकोमा यस पटक शेयर निष्काशनको समय व्यवस्थापन नहुँदा समस्या देखिएको हो ।

केन्द्रिय निक्षेप प्रणालीका अनुसार एकै पटक धान्न नसक्ने गरी लगानीकर्ताले मेरो शेयर लग इन गरे पछि सिष्टम डाउन भएको हो ।

नोटबजारसँग कुरा गर्दै सिडिएउसीका प्रवक्ता सुरेश न्यौपानेले अधिक चाप परेकाले सफ्ट्वेयर डाउन भएको बताए । ‘एकै पटक तीन कम्पनीको प्राथमिक निष्काशन परेकाले लकडाउनका बेला अधिक लगानीकर्ता एकै पटक साइटमा आएका छन् । जसका कारण इन्टरनेट सेवा प्रदायकसँगको सम्बन्ध समेत बिच्छेद हुने अवस्था उत्पन्न भएको छ’ न्यौपानेले भने ‘व्याण्डविथ थपेर अरु समस्या कसरी समस्या समाधान गर्ने भन्ने गृहकार्य गरिरहेका छौं ।’

एउटै समयमा धेरै कम्पनीको साधारण शेयर निष्काशन गर्न दिइएका कारण विगतदेखि नै मेरो शेयरमा समस्या आउने गरेको छ । यो अवस्थाका सम्बन्धमा पटक पटक बहस चले पनि कुनै निकायले चासो नदिँदा समस्या आएको हो ।

सिडिएससी प्रवक्ता न्यौपानेले एकै पटक शेयर निष्काशन गर्ने तालिका नबनाई दिन मर्चेण्ट बैंकरहरुसँग आग्रह समेत गरेका छन् । यसमा धितोपत्र बोर्डले पनि समन्वय गरिदिनु पर्ने उनको भनाई छ ।

मेरो शेयरमा समस्या देखिएसँगै दोस्रो बजारबाट शेयर बिक्री गरेर इडिआईएस गर्नेहरु पनि प्रभावित भएका छन् । बुधबारसम्म शेयर बिक्री गरेका लगानीकर्ताले शेयर राफसाफ गराउन मेरो शेयरबाट इडिआईएस भेरिफाई गर्न सकिरहेका छैनन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।